images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चितवनको विकट बस्तीमै पुग्यो नागरिकता सेवा,...

चितवनको विकट बस्तीमै पुग्यो नागरिकता सेवा, ११२ जनाले पाए नागरिकता

चितवनको विकट बस्तीमै पुग्यो नागरिकता सेवा, ११२ जनाले पाए नागरिकता

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • चितवन । राप्ती नगरपालिका–१३, कालीटार र वडा नं १२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी खुसी भएका छन्।जिल्ला प्रशासन कार्यालय, चितवनले विकट क्षेत्र मानिएको सो क्षेत्रबाट नागरिकता वितरण गरेपछि स्थानीय भने दङ्ग परेका छन् । प्रशासनको टोलीले नागरिकता वितरण गरेसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ ।मङ्गलबार राप्ती नगरपालिका–१३ कालीटारका ८४ र वडा नं १२ यौरालीटारका २८ जनालाई नागरिकता वितरण गरिएको हो ।

    images
    images

    दरमुकाम भरतपुरसम्म आउन टाढा पर्ने, यातायातको सुविधा सहज नहुँदा खर्चिलो हुने तथा वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कार्यालयसम्म आउन कठिन हुने भएकाले वडामै पुगेर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।उनका अनुसार वडाबाट सिफारिस भई आएका र प्रशासनबाट आवश्यक कागजी प्रक्रिया पूरा गरेका नागरिकलाई कर्मचारीसहित मङ्गलबार वडामै पुगेर नागरिकता वितरण गरिएको हो।नागरिकता वितरणसँगै मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यसमेत गरिएकाले नागरिकलाई एउटै स्थानबाट दुई वटा सेवा प्राप्त भएको उनले बताए। प्रमुख जिल्ला अधिकारी अर्यालले राप्तीका विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सदरमुकामसम्म आएर नागरिकता लिन कठिन हुने भएकाले प्रशासनले वडामै पुगेर सेवा दिएको बताए।

    कालीटारसम्म पुग्न करिब साढे छ घण्टाको यात्रा गर्नुपरेको र सडकको अवस्थाका कारण विभिन्न स्थानमा गाडी परिवर्तन गर्नुपरेको तथा कतिपय ठाउँमा पैदल हिँडेर पुग्नुपरेको उनले बताए।कालीटारभन्दा माथिल्लो क्षेत्रमा रहेका नागरिकसमेत नागरिकता लिन चार–पाँच घण्टा पैदल हिँडेर आउनुपर्ने बाध्यता छ ।विशेषगरी, चेपाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा भौगोलिक विकटता, गरिबी तथा शिक्षाको कमीका कारण नागरिकता बनाउनुपर्ने विषयमा कतिपय नागरिकलाई जानकारी छैन । नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।“यहाँ धेरै चेपाङ समुदाय नागरिकताविहीन रहेको जानकारी पाएपछि निवेदन तथा अनुसूची प्रमाणित गरेर ल्याउन भनेका थियौँ । वडाध्यक्षले आवश्यक कागजात ल्याउनुभएपछि आज हामीले यहाँ नागरिकता दिन सफल भएका छौँ”, प्रजिअ अर्यालले भने।

    images
    images

    नागरिकता नपाएका कारण कुनै पनि नागरिक राज्यका सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रशासनले आवश्यक सहजीकरण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीले विकट स्थानमा नागरिकलाई सेवा दिन पाउँदा सन्तुष्टि मिलेको बताए।राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले वडाले नागरिकता नभएका व्यक्तिको विवरण सङ्कलन गरी सनाखतसहित प्रशासनमा बुझाएको बताए। विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धालाई सदरमुकामसम्म पुग्न कठिन हुने भएकाले वडामै नागरिकता वितरण हुँदा खुसी लागेको वडाध्यक्ष प्रजाले बताए।नागरिकता प्राप्त गरेपछि प्रक्रिया पूरागरी सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुल्ने तथा मतदाता नामावलीमा नाम दर्ता र मतदाता परिचयपत्र प्राप्त गर्नसमेत सहज हुने उनले बताए।जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्ला प्रशासनको टोलीसँगै कार्यालयका कर्मचारीले कालीटार र यौरालीटारमा पुगेर नागरिकता प्राप्त गर्ने सबैको मतदाता नामावलीका लागि विवरण सङ्कलन गरेको बताए।उनका अनुसार नागरिकता प्राप्त गरेका ११२ जनाको मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरण भरिएको छ। नागरिकता भए पनि मतदाता परिचयपत्र नभएका केही नागरिकको मतदाता नामावलीमा नाम दर्ता गरी परिचयपत्र बनाउने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend