images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको भीड...

घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको भीड बढ्यो, चिनी–नुनमा सहुलियत

घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको भीड बढ्यो, चिनी–नुनमा सहुलियत

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • दाङ । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो ।चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको सङ्ख्या बढेसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्नेको भीड बढ्न थालेको छ ।बजारमा भन्दा सस्तोमा चिनी र नुन पाइने भएकाले आफू खरिद गर्न आएको घोराही उपमहानगरपालिका–१५ की निर्मला मगरले बताइन् । सरकारले चिनी र नुनमात्र नभई अन्य सामग्री पनि सहुलियतमा बिक्री गर्नुपर्ने उनको भनाइ छ । यसले उपभोक्तालाई सहज हुने उनले बताइन् ।

    images
    images

    अर्का उपभोक्ता घोराही–७ का निर्मल केसी पनि सुपथ मूल्य पसलबाट नुन र चिनी खरिद गर्न पाउँदा खुसी लागेको बताउँछन् । अन्यत्रभन्दा केही छुट भएका कारण थोरै भए पनि राहत मिलेको उनको भनाइ छ ।दैनिक खरिद गर्न आउनेको सङ्ख्या वृद्धि हुँदै गएको साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए । सुरुका दिनमा कम भए पनि पछिल्ला दिनमा भीड बढ्दै गएको उनको भनाइ छ । अहिले दैनिक ३०० भन्दा बढी उपभोक्ता आउने गरेको उनले बताए ।सुपथ मूल्य पसलबाट सर्वसाधारणले प्रतिकिलो चिनी रु. १०० र नुन प्रतिकिलो रु. २४ मा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । बजारमा हाल चिनी प्रतिकिलो करिब रु. १४० मा बिक्री हुँदै आएको उपभोक्ताको भनाइ छ । त्यसैगरी नुन पनि बजारमा प्रतिकिलो रु. ३० मा बिक्री हुँदै आएको उनीहरू बताउँछन् ।

    बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट चिनी र नुन खरिद गर्दा उपभोक्ताले केही रकम बचत गर्न सक्नेछन् । साल्ट ट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा नुन अधिकतम छ किलो र चिनी अधिकतम छ किलोसम्म खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।साल्ट ट्रेडिङले यही असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।विगतका वर्षमा चाडपर्वका समयमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्ट ट्रेडिङले यस वर्ष भने नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गर्न थालेको जनाएको छ ।

    images
    images

    प्रमुख गुप्ताका अनुसार सुपथ मूल्य पसल असोज १ गतेदेखि कात्तिक ३१ गतेसम्म सञ्चालन हुनेछ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई केही राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको उनले बताए ।चाडपर्वको समयमा एउटै व्यक्तिले ठूलो परिमाणमा वस्तु खरिद गरेर अन्य उपभोक्तालाई अभाव हुने अवस्था नआओस् भन्ने उद्देश्यले खरिदको सीमा तोकिएको बताइएको छ । यसको दुरुपयोग नहोस् भन्नेबारे कार्यालय सचेत रहेको जनाएको छ ।चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने गरेको छ । विशेषगरी दसैँ, तिहार र छठका समयमा घरायसी प्रयोजनका लागि चिनी, नुनलगायत खाद्य वस्तुको खपत बढ्ने भएकाले उपभोक्ताको मागअनुसार सहुलियत मूल्यमा वस्तु उपलब्ध गराउने सरकारी प्रयासले बजार मूल्यमा हस्तक्षेप गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend