काठमाडौँ । आसन्न चाडपर्वका समयमा यात्रुहरू बिचौलियाबाट ठगिने समस्या अन्त्य गर्न र जीर्ण सडक तथा कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दैनिक दुर्घटना रोक्न सांसदहरूले सरकार तथा मातहतका निकायको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा सत्तारूढ तथा प्रतिपक्षी सांसदहरूले चाडपर्व लक्षित अल्पकालीन योजनामा मात्र सीमित नभई मुलुकको समग्र यातायात क्षेत्रको दिगो व्यवस्थापन गर्न माग गरेका हुन्।
बैठकमा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा बिचौलियाहरूको प्रभाव बढ्ने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। उनले टिकट काट्नु मात्र ठुलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य दायित्व भएको स्मरण गराइन्। संसदीय समितिले सातवटै प्रदेशमा यातायात तथा पूर्वाधार अनुगमनका लागि उपसमिति बनाएर काम गरिरहेको जानकारी पनि उनले दिइन्।सांसद भुसालले भनिन्, ‘विगतका कमीकमजोरी दोहोरिनु हुँदैन। कृष्णभीर लगायतका सडक खण्डमा सरकारले पहिरो पन्छाउने र मर्मतको काम गरिरहेको भए पनि यातायात व्यवस्था विभाग र व्यवसायीबिच प्रभावकारी समन्वय हुनुपर्छ।’
रास्वपाकै सांसद सुनिल केसीले राजधानीकै मुख्य सडकहरूमा सामान्य ट्राफिक पूर्वाधार नहुँदा नागरिकले ज्यान गुमाइरहनु परेको भन्दै आक्रोश पोखे। कोटेश्वर चोकमा निर्माण हुने भनिएको आकासे पुल कसको स्वार्थमा रोकियो भन्दै उनले सम्बन्धित मन्त्रालय र विभागसँग जवाफ माग गरे। सडक विभाग र ट्राफिक प्रहरीका अधिकारीहरूलाई प्रश्न गर्दै उनले अव्यवस्थित पार्किङ र सडक सुरक्षामा राज्यका निकायहरूले आफ्नो कमजोरी स्विकारेर तत्काल समाधान दिनुपर्ने माग गरे।सांसद केसीले भने, ‘कोटेश्वर, बालकुमारी, पेप्सीकोला, थली, साँखु लगायतका क्षेत्रमा साधारण ट्राफिक लाइट नहुँदा दैनिकजसो गम्भीर दुर्घटना भइरहेका छन्। काठमाडौंको मुटुमै ट्राफिक लाइट राख्न नसक्ने अनि यहाँ बसेर कुरा मात्र गरेर हुन्छ?’प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले संसदीय समितिको कार्यशैली र यातायात नीतिको प्राथमिकतामाथि प्रश्न उठाए। बैठकमा पर्याप्त समय नदिई हतारमा छलफल टुङ्ग्याउने प्रवृत्तिको आलोचना गर्दै उनले मौसमी वा चाडपर्वकेन्द्रित योजनाले मात्र समस्या हल नहुने बताए।
सांसद शर्माले भने, ‘हामी हरेक वर्ष चाडपर्व आउँदा मात्र तात्ने गर्छौँ। चाडपर्वमा सवारीको चाप बढ्नु स्वाभाविक हो, तर जबसम्म यातायात प्रणालीको समग्र र दिगो पुनर्संरचना गरिँदैन, तबसम्म यस्ता समस्या दोहोरिइरहन्छन्।’ उनले दीर्घकालीन नीति निर्माणमा समिति र सरकारले गम्भीरता देखाउनुपर्नेमा जोड दिए।




.gif)





