बुटवल । असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि विपद्को जोखिम न्यूनीकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म पूर्वतयारी तीव्र पारिएको छ।मौसम पूर्वानुमानसँगै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।दाङमा सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वार्टर भालुवाङले राप्ती नदीको तटीय क्षेत्रमा माइकिङ गर्दै नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। नदीमा पानीको सतह बढ्न सक्ने भएकाले माछा मार्न, दाउरा तान्न तथा गाईवस्तु चराउन नदी किनारमा नजान प्रहरीले अनुरोध गरेको हो।
नदीको बहाव बढेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जानसमेत सशस्त्र प्रहरीले आग्रह गरेको छ।लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ।वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यका अनुसार प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गरी विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
‘प्रदेशका १२ जिल्ला र १०९ स्थानीय तहलाई नै पत्राचार गरेर सतर्कताका सबैखाले उपाय अपनाउन अनुरोध गरेका छौँ,’ उनले भने, ‘विपद्पूर्व, विपद्को समयमा र विपद्पश्चात् गरिने सबैखाले कामको दृष्टिले उच्च सतर्कता अपनाएका छौँ।’सोहीअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय अवस्था र जोखिमका आधारमा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन्।नवलपरासी जिल्ला प्रशासन कार्यालयले नदी तथा तटीय क्षेत्रमा रहेका बस्तीमा विशेष सतर्कता अपनाउन, स्थानीय तहलाई पूर्वतयारी अवस्थामा रहन तथा नाली र पानी थुनिने स्थान सफा राख्न आग्रह गरेको छ। भारी वर्षाको सम्भावना रहेकाले धान तथा अन्य बाली काटिसक्न सम्भव भए तत्काल सुरक्षित स्थानमा भित्र्याउनसमेत अनुरोध गरिएको छ।दाङमा प्रशासनले बाढी, पहिरो, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार राप्ती, बबईलगायत जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको छ।
दाङका पाँच सडकखण्ड राति बन्द
भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा आवागमन बन्द रहने प्रशासनले जनाएको छ।बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखी यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको हो।प्रशासनका अनुसार रातिको समयमा बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्।प्रशासनले तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न तथा सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न यात्रु र सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम तथा सडकको अवस्थाअनुसार थप निर्णय र सूचना जारी हुनसक्ने प्रशासनले जनाएको छ।
वर्षाको जोखिमपछि केही स्थानीय तहमा विद्यालय बन्द
भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि लुम्बिनी प्रदेशका केही स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।बुटवल उपमहानगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तथा कपिलवस्तुका महाराजगन्ज र बुद्धभूमि नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।स्थानीय तहहरूले विद्यार्थीको सुरक्षा र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै पठनपाठन स्थगन गरेका हुन्।




.gif)





