images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भारी वर्षाको चेतावनीपछि कोशी प्रदेशमा उच्च...

भारी वर्षाको चेतावनीपछि कोशी प्रदेशमा उच्च सतर्कता, राति सवारीदेखि पदयात्रासम्म रोक

भारी वर्षाको चेतावनीपछि कोशी प्रदेशमा उच्च सतर्कता, राति सवारीदेखि पदयात्रासम्म रोक

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • विराटनगर । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण देशैभर भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसमी चेतावनीसँगै कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाइएको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानपछि स्थानीय प्रशासनहरूले जनधनको क्षति रोक्न पूर्वतयारी तीव्र पार्दै सतर्कता अपनाउने सम्बन्धी विभिन्न निर्णयहरू गरेका छन्।लगातारको वर्षाले पहाडी जिल्लाका कमजोर भिरालो जमिनमा पहिरो र गेग्रान बहाव निम्त्याउने, तमोर, अरुणलगायतका नदी र साना खोला–खहरेहरूमा आकस्मिक बाढी आउने तथा ग्रामीण कच्ची सडकहरू भासिने उच्च जोखिम देखिएको छ। यसका साथै नदी तटीय बस्ती, कमजोर पहाडी भूभाग र हिमाली पदमार्गहरू मौसमका दृष्टिले बढी संवेदनशील बनेका छन्।

    images
    images

    जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले विशेष सुरक्षा निर्णय गर्दै रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। धनकुटा प्रशासनले भेडेटार–रवि–राँके सडक खण्ड, मूलघाटदेखि पाँचथर सिमानासम्मको तमोर कोरिडोर तथा भेडेटार हुँदै अन्य पहाडी जिल्ला जोड्ने सडकहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पूर्ण रूपमा निषेध गरेको छ। बाढी र पहिरोले राजमार्ग अवरुद्ध भए तत्काल खुलाउन सकियोस् भन्ने उद्देश्यले जोखिमयुक्त ठाउँहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी उपकरणहरू तयारी अवस्थामा राखिएका छन्।जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै यही असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द रहने जनाएको छ ।उक्त निर्णय अनुसार तोकिएको समयावधिभर मेची राजमार्ग, मेची करिडोर लगायत इलाम जिल्लाका सम्पूर्ण सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

    प्रशासनले सर्वसाधारण नागरिकहरूलाई समेत अत्यावश्यक काम नपरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। कुनै आपत्कालीन वा अत्यावश्यक अवस्था आइपरेमा नजिकको प्रहरी प्रशासनको सहयोग लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।उता जिल्ला प्रशासन कार्यालय भोजपुरले पदयात्रीहरूको जीवनरक्षालाई प्राथमिकता दिँदै चर्चित मुन्धुम पदमार्गमा भइरहेको पदयात्रा तत्काल रद्द गरी फर्कन आग्रह गरेको छ भने केही दिनका लागि उक्त पदमार्गमा नयाँ पदयात्रा गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। भोजपुर प्रशासनले रातिको समयमा कच्ची सडकमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र चालकहरूलाई संयमित भएर सवारी चलाउन निर्देशन दिएको छ।यसैगरी जिल्ला प्रशासन कार्यालय संखुवासभाले बेलुका ६ बजेपछि मुख्य राजमार्गबाहेकका भित्री कच्ची सडकहरूमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। संखुवासभामा नदी तथा खोला किनारका होटल र रेस्टुराँहरूमा अनावश्यक भेला हुन, रातको समयमा हिँड्डुल गर्न र माछा मार्न समेत निषेध गरिएको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण तथा पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई तत्काल यात्रा रद्द गरी सुरक्षित स्थानमा बस्न वा फर्किन कडा निर्देशन जारी गरेको छ।यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षाका कारण जिल्लाका पहाडी भूभागमा पहिरो र गेग्रान बहाव निम्तिन सक्ने तथा दुधकोशीसहितका स्थानीय खोला–नदीहरूमा जलसतह बढेर बाढी आउने उच्च जोखिम औँल्याइएको छ ।सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्रका ग्रामीण तथा भित्री सडक खण्डहरूमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पूर्ण रोक लगाएको छ ।यसैगरी, नदी किनार र पहिरोको जोखिम रहेका भिरालो स्थानमा सवारीसाधन पार्किङ नगर्न तथा विपद्को समयमा उद्धार कार्यमा खटिनुपर्ने गाडीहरूलाई प्राविधिक रूपमा चुस्त र तयारी अवस्थामा राख्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।

    धकोशी तथा विभिन्न खहरे खोलाको आसपास बसोबास गर्ने बासिन्दाहरूलाई आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै स्थानीय तहसँग समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सर्न र पहिरोको सम्भावना भएका ठाउँ वरपर नबस्न प्रशासनले अपिल गरेको छ। त्यस्तै, पर्यटक तथा जिल्लावासीलाई उक्त अवधिभर अत्यावश्यक कामबाहेक लामो दूरी र रातको यात्रा नगर्न भनिएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालयहरू उदयपुर, खोटाङ, तेह्रथुम र पाँचथरले पनि आ–आफ्ना जिल्लाका जोखिमयुक्त क्षेत्र पहिचान गर्दै उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेका छन्। यी प्रशासनहरूले बाढी, पहिरो र डुबानको जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सर्न, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र बिरामीको सुरक्षामा विशेष ख्याल गर्न तथा महत्त्वपूर्ण कागजात र खाद्यान्न सुरक्षित राख्न अपिल गरेका छन्। साथै अत्यावश्यक बाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र निस्कन सूचित गरिएको छ।विपद्को पूर्वतयारीस्वरूप सरकार र स्थानीय प्रशासनले सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखेका छन्। सम्भावित जोखिमयुक्त बस्तीका नागरिकलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा सार्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन् भने रेडक्रस लगायतका संस्थाहरू राहत सामग्रीसहित तैनाथ  गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जनाएका छन्।यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हवाई उडान, सडक अवस्था र हिमाली भेगमा हुनसक्ने भारी हिमपातलाई निरन्तर निगरानीमा राख्दै नागरिकलाई आधिकारिक सूचना मात्र पछ्याउन र आपत्कालीन अवस्थामा ११५५, १२३४, १०० र १११४ जस्ता हटलाइन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend