काठमाडौँ । समयमै पुल निर्माणको काम सम्पन्न नगरेपछि सडक विभागअन्तर्गत शहीदमार्ग सडक योजना, रोल्पाले एक निर्माण कम्पनीको ठेक्का तोडेको छ ।रुकुम (पूर्व) र रोल्पाका विभिन्न स्थानमा पुल निर्माणको जिम्मा पाएको मकवानपुर, हेटौँडाको ‘मृत सञ्जीवनी निर्माण सेवा प्रालि’ सँगको सम्झौता रद्द गर्दै कार्यालयले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । आयोजना कार्यालयले २०८३ असोज ७ गते सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता अन्त्य गरिएको र वित्तीय फरफारकका लागि १५ दिनको अल्टिमेटम दिएको छ ।
उक्त निर्माण कम्पनीले उत्तरगंगा, घट्टे, लरिचेरा र बिजिबी खोलामा पुल निर्माण (डिजाइन एण्ड बिड) को ठेक्का पाएको थियो । यसका लागि २०७८ फागुन ११ गते सम्झौता भएको थियो । तर, निर्धारित समयसीमाभित्र काम नसकेको र पटक–पटकका लिखित तथा मौखिक निर्देशनको समेत बेवास्ता गरेपछि कार्यालय कडा कदम चाल्न बाध्य भएको हो ।यसअघि निर्माण कार्यमा चरम लापरवाही भएपछि २०८१ मंसिर १८ गते ठेक्का किन नतोड्ने भन्दै सार्वजनिक सूचनामार्फत स्पष्टीकरण मागिएको थियो । निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरण तर्कसंगत नभएको र त्यसपछिको करिब २१ महिनाभन्दा बढी समय बितिसक्दा पनि काममा तदारुकता नदेखाएको योजना कार्यालयले जनाएको छ ।
कामप्रतिको बेवास्तालाई सम्झौताको गम्भीर उल्लंघन ठहर गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ । ठेक्का तोडिएसँगै कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने र थप कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।त्यसैगरी, ठेक्का तोडिएपछिको मूल्यांकन मार्फत स्थापित हुन आउने रकम सरकारी बाँकीसरह असुलउपर हुने कानुनी व्यवस्था रहेको भन्दै कार्यालयले १५ दिनभित्र वित्तीय फरफारकका लागि सम्पर्क गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।तोकिएको अवधिभित्र कम्पनी सम्पर्कमा नआए कार्यालय आफैंले प्रचलित कानुनअनुसार मूल्यांकनको कार्य अघि बढाउने चेतावनीसमेत दिएको छ ।




.gif)





