काठमाडौँ, असोज ५ । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेपछि स्थानीयवासी त्रसित भएका छन्। नजिकैको वनक्षेत्रबाट बस्तीमा प्रवेश गरेका स्यालका समूहले मानिस तथा पशुचौपाया माथि आक्रमण गर्न थालेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ।
हरिवन नगरपालिका–६ का वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार पछिल्लो २० दिनमा नगरपालिकाका विभिन्न क्षेत्रमा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन्। गत शुक्रबार साँझ मात्रै वडा नं. ६ मा एक बालिकासहित चार जनामाथि स्यालले आक्रमण गरेको उनले जानकारी दिएका छन्।
पछिल्लो घटनामा स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया गोपिकाकुमारी महतो घाइते भएका छन्। घरवरपर काम गरिरहेका बेला स्यालले आक्रमण गर्दा उनीहरूको हात, खुट्टालगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जनाइएको छ।
स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया पनि घाइते भएका छन्। नगरपालिकाका वडा नं. १, ६ र ८ स्यालको आक्रमणबाट बढी प्रभावित भएका छन्।
वनक्षेत्र नजिक रहेका बस्तीमा दिउँसै स्यालका समूह प्रवेश गरी मानिस तथा पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। स्थानीय रमेश लामाले स्यालको आक्रमणका कारण घरबाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन्।
“स्यालहरू दिउँसै बस्तीमा प्रवेश गर्न थालेका छन्। मानिस तथा पशुचौपायामाथि आक्रमण भइरहेकाले स्थानीयवासीमा त्रास फैलिएको छ,” उनले भने।
स्यालको आक्रमणका घटना बढेपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुडाथोकीले बताएका छन्। उनका अनुसार नगर क्षेत्रमा स्यालका कारण समस्या सिर्जना भएपछि वन कार्यालय तथा प्रहरी प्रशासनलाई जानकारी गराई आवश्यक नियन्त्रणात्मक पहल गर्न आग्रह गरिएको छ।
“केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा समस्या सिर्जना गरेको छ,” नगरप्रमुख बुडाथोकीले भने, “वन कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराई स्याल नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छौँ।”
यसैबीच, स्यालको टोकाइबाट घाइते भएका मानिस तथा पशुचौपायामा रेबिज सङ्क्रमण हुन नदिन नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोपको व्यवस्था गरिरहेको जनाएको छ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मी तथा पशु चिकित्सकको टोली गाउँ–गाउँमा पुगेर घाइते मानिस तथा पशुचौपायाको उपचार गरिरहेको छ। रेबिजको जोखिमलाई ध्यानमा राख्दै घाइतेको अवस्था मूल्याङ्कन गरी आवश्यक उपचार तथा खोप उपलब्ध गराउने काम भइरहेको उनले जानकारी दिएका छन्।
नगरपालिकाले स्यालको आक्रमणबाट जोगिन स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। साथै, वनक्षेत्र नजिकका बस्तीमा स्यालको गतिविधि देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय, प्रहरी वा वन कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ।




.gif)





