काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरमार्फत बाढी प्रभावित क्षेत्रबाट आज थप २० जनाको उद्धार गरेको छ। सेनाका अनुसार हालसम्म हवाई माध्यमबाट ३ हजार ८७४ नेपाली र २८३ विदेशी गरी ४ हजार १५७ जनाको उद्धार गरिएको छ।
सेनाले रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ। त्रिशूलीपारिको कोलोनी, तुप्चे, दानसिङ र सामरी भञ्ज्याङलगायत क्षेत्रमा खोजी भइरहेको छ।
रसुवागढी जलविद्युत आयोजनामा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि संयुक्त टोलीले टनेलभित्र खोजी गरिरहेको भए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।
चिलिमे हाइड्रोमा स्याफ्रुबेसीदेखि टनेलसम्म हेभी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण सम्पन्न भएको छ। टनेलभित्र आवतजावतका लागि ६र६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी बाटो बनाउने काम भइरहेको छ।
टनेलभित्र एक्साभेटर प्रयोग गरी करिब ६५ मिटरसम्मको लेदो हटाइएको र थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–३ टनेल, त्रिशूली–३ए को पावरहाउस तथा टनेल र त्रिशूली–३बी आयोजनामा नेपाली सेना सहितको संयुक्त टोलीले उत्खनन तथा खोजी कार्यलाई निरन्तरता दिएको छ।
यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ५५ जनाले स्वास्थ्य सेवा लिएका छन्। सेनाका अनुसार हालसम्म ३ हजार ७२० जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।




.gif)





