काठमाडौं । अध्यागमन विभागले नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण अर्थात् विदेश भ्रमणको विवरण अब नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
विभागले सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नागरिक एपमार्फत भ्रमण विवरण उपलब्ध गराउने नयाँ व्यवस्था लागू गरेको जनाएको हो।
नयाँ व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राहीले अध्यागमन विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ। यसबाट सेवाग्राहीको समय तथा लागत बचत हुनुका साथै सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।
विभागका अनुसार नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरण देखिने भएकाले व्यक्तिगत विवरणको सुरक्षा कायम रहनेछ। यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट, विवरण प्राप्त गर्न लाग्ने समय तथा विभागको कार्यबोझ बढ्ने समस्या रहेको थियो।
अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले नयाँ प्रविधिमार्फत सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध हुने बताए।
उनका अनुसार नागरिक एपमार्फत प्राप्त गरिएको भ्रमण विवरणलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले आधिकारिक स्रोतका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।
विभागले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा यो व्यवस्था महत्वपूर्ण भएको जनाएको छ।




.gif)





