काठमाडौँ । बैंकिङ कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको हो ।उच्च अदालत पाटनले अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनको हकमा दीपा अग्रवालले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।गत साउन ७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको वाणिज्य इजलासले अग्रवाललाई नख्खु कारागार पठाउन आदेश दिएको थियो ।
जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ऋण अन्यत्र प्रयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिमको कसुर गरेको देखिन आएको अदालतको आदेशमा उल्लेख छ ।अग्रवालको बैंक खाता प्रयोग गरी जटिल तहकिकरण भएको र वित्तीय कारोबारमा जोखिम पुर्याएको भन्दै मुद्दाको किनारा नलागेसम्म उनलाई थुनामै राखेर प्रक्रिया अगाडि बढाउन अदालतले आदेश दिएको थियो ।जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाईमा रहेको कन्सोरियम बैंकहरूबाट वर्किङ क्यापिटल लोन (चालु पुँजी कर्जा) लिएको थियो । तर, उक्त कर्जा जुन प्रयोजनका लागि लिइएको हो, सो काममा प्रयोग नगरी जग्गा खरिद र अन्य कम्पनीको शेयर लगानीमा दुरुपयोग गरिएको आरोप छ ।




.gif)



