काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-जीपी (e-GP) प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान खोजेर सुरक्षित र विश्वसनीय रूपमा पुनः सञ्चालनमा ल्याउन माग गरेको छ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ बमोजिम सञ्चालनमा रहेको यो प्रणाली लामो समयसम्म अवरुद्ध हुँदा सार्वजनिक खरिद प्रक्रिया र विकास निर्माणको गति प्रभावित भएको महासंघले जनाएको छ। प्रणाली बन्द हुँदा निर्माण व्यवसायीहरू प्रत्यक्ष रूपमा मारमा परेको भन्दै महासंघले तत्काल समस्या समाधान गर्न पीपीएमओ (PPMO) को ध्यानाकर्षण गराएको हो।
महासंघका उपमहासचिव (नीतिगत) तथा प्रवक्ता मंगल बहादुर शाहीले ई-जीपी प्रणाली बन्द गरेर पुरानै 'हार्डकपी' प्रक्रियामा फर्किनु दीर्घकालीन समाधान नभएको स्पष्ट पारेका छन्। “प्रणालीमा देखिएको सुरक्षा कमजोरी तत्काल पहिचान र समाधान गरी ई-जीपीलाई पुनः सञ्चालनमा ल्याउनुपर्छ,” प्रवक्ता शाहीले भने, “ई-जीपी सुरक्षित बनाउनुपर्ने जिम्मेवारी पीपीएमओको हो। सुरक्षा जोखिम देखिएपछि प्रणालीलाई अनिश्चितकालसम्म बन्द राख्नुको सट्टा आवश्यक सुधारलाई प्राथमिकताका साथ अघि बढाई निर्माण व्यवसायी र सार्वजनिक निकायको काम प्रभावित नहुने गरी तत्काल सञ्चालनमा ल्याउनुपर्छ।”यसैबीच, महासंघले पीपीएमओ (PPMO) समक्ष मुख्य रूपमा ५ बुँदे माग अघि सारेको छ। जसमा प्रणालीको स्वतन्त्र साइबर सुरक्षा परीक्षण गर्नुपर्ने, सुरक्षा कमजोरी तत्काल सुधार गर्नुपर्ने, 'एक्सेस कन्ट्रोल' (Access Control), 'अडिट ट्रेल' (Audit Trail) र 'डाटा प्रोटेक्सन' (Data Protection) मजबुत बनाउनुपर्ने रहेका छन्। त्यसैगरी, प्रणालीको विश्वसनीयता सुनिश्चित गर्दै अनावश्यक रूपमा खरिद प्रक्रिया प्रभावित नहुने गरी ई-जीपी तत्काल पुनः सञ्चालन गर्न महासंघले माग गरेको छ।सार्वजनिक खरिदमा पारदर्शिता, निष्पक्ष प्रतिस्पर्धा र विकास निर्माणको निरन्तरताका लागि ई-जीपी प्रणालीको शीघ्र पुनः सञ्चालन अपरिहार्य रहेको महासंघले स्पष्ट पारेको छ।




.gif)



