सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। पालिकाका तर्फबाट ५ लाख, जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको ५ दिन बराबरको पारिश्रमिक सहयोग गर्न लागिएको हो।सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको छलफलपछि शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त रकम राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन्। पालिकाबाट दिने भनेको रकम सरकारी नै भएको र यस्तो विपद्को घडीमा जनप्रतिनिधि तथा कर्मचारीको पनि दायित्व हुनुपर्छ भन्ने सल्लाह बमोजिम निर्णय गरिएको यादवले बताएका छन्।
नगरपालिकाको पाँच लाख, कर्मचारीको ५ दिनको पारिश्रमिक र जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा जोड्दा २५ लाख ५८ हजार रुपैयाँ पुग्ने नगर प्रमुख यादवले स्पष्ट पारेका छन्। उक्त रकम एक सातापछि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएकोसमेत उनले जानकारी दिएका छन्।यसअघि सिरहाकै लहान नगरपालिकाले ११ लाख तथा गोलबजार, सिरहा र कल्याणपुर लगायतका नगरपालिकाले ५–५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्।




.gif)



