images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवा बाढीः बेपत्ता खोजी तीव्र बनाउन...

रसुवा बाढीः बेपत्ता खोजी तीव्र बनाउन सिजपको आग्रह

रसुवा बाढीः बेपत्ता खोजी तीव्र बनाउन सिजपको आग्रह

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी र चुनौतीपूर्ण रहेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

    images
    images

    सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् बाढी प्रभावित सबै क्षेत्रमा समान रूपमा राहत तथा मानवीय सहायता पुर्‍याउन सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा मानवीय संस्थाहरूलाई अपिल गरिएको छ ।

    सिजपले विपद्मा परेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई प्राथमिकता दिनुपर्ने जनाएको छ । परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

    images
    images

    विपद्को समयमा बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भन्दै सिजपले उनीहरूको विशेष निगरानी र संरक्षण आवश्यक रहेको जनाएको छ । बाढी प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्शलाई राहत तथा पुनर्स्थापनाको अभिन्न अंग बनाउनुपर्ने उसको माग छ ।

    त्यस्तै, विपद्का बेला पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको अधिकार संरक्षण गर्न सिजपले आग्रह गरेको छ । अनुमति तथा आवश्यक संवेदनशीलताबिना पीडित बालबालिका र परिवारका तस्वीर, भिडियो वा संवेदनशील अवस्थाका सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनीहरूमा थप मानसिक तनाव सिर्जना हुन सक्ने भन्दै सामग्रीको जिम्मेवार प्रयोग गर्न आग्रह गरिएको छ ।

    बेपत्ता तथा बेवारिसे शवबाट उत्पन्न हुन सक्ने दुर्गन्ध तथा सम्भावित महामारीको जोखिमबाट जोगिन र बालबालिकालाई त्यस्ता स्थानमा पुग्दा पर्न सक्ने मानसिक असरप्रति पनि सम्बन्धित निकाय सचेत हुनुपर्ने सिजपले जनाएको छ ।

    सिजपले बालबालिका तथा विपद् प्रभावित व्यक्तिको पहिचान, तस्वीर र व्यक्तिगत विवरण सार्वजनिक गर्दा सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई विशेष संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।

    यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकाको अवस्थालाई विशेष ध्यानमा राख्दै प्रभावकारी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्न सिजपले अनुरोध गरेको छ ।

    विपद्सम्बन्धी सूचना तथा राहतको अवस्थाबारे आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन तथा अपुष्ट सूचना र अफवाह फैलिन नदिन पनि सिजपले सबैलाई आग्रह गरेको छ । प्रभावित समुदायको संवेदनशीलतालाई सम्मान गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा जिम्मेवार ढंगले सहयोग गर्नसमेत उसले अपिल गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend