काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका कैयौँ कर्मचारी र कामदार बेपत्ता भएका छन् । आयोजनाको सुरुङमा काम गर्दै गरेको अवस्थामा बाढी पसेपछि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको हो ।यसैबिच सुरुङभित्र उद्धारका लागि निकै चर्चित भारतीय एउटा टोलीले नेपालमा उद्धारका लागि आउने इच्छा प्रकट गरेको छ । ‘र्याट माइनर्स’ नामले चिनिने सो टोलीले नेपालमा बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालन हुन चाहेको आशयसहित काठमाडौँस्थित भारतीय दूतावासलाई सहजीकरणका लागि पत्र पठाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अनुमति प्राप्त हुनासाथ सो टोली आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्तिसहित नेपाल आउन तयारी अवस्थामा छ ।‘र्याट माइनर्स’कै टोलीले सन् २०२३ मा सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरको ‘रेस्क्यू अप्रेसन’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै ‘र्याट माइनर्स’ टिमका एक सदस्य आनन्द कंसलले नेपालस्थित भारतीय राजदूतलाई पत्र लेखेर नेपालमा उद्धार कार्यमा परिचालन हुन चाहेको भन्दै सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिए ।नेपालमा आएको बाढीको फोटो र भिडियो हेरेर आफूहरू निकै भावुक भएको भन्दै उनले यस्तो अवस्थामा आफूहरूसँग रहेको विज्ञता काम लाग्न सक्ने देखेर नै उद्धार अनुमतिका लागि प्रस्ताव गरिएको बताए ।




.gif)



