धादिङ । रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले धादिङ जिल्लाको त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जनधनको क्षति पुर्याएको छ । भदौ १० गते बुधबार बिहान आएको उक्त बाढीका कारण उत्पन्न संकटको प्रारम्भिक विवरण जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको छ । प्रशासनका अनुसार भदौ १६ गते साँझसम्मको तथ्याङ्क हेर्दा बाढीका कारण ठूलो संख्यामा मानवीय र भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुगेको देखिन्छ ।बाढीको चपेटामा परेकामध्ये हालसम्म ३ जनाको जीवितै उद्धार गरिएको छ, जसमा दुई जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन् । तर, मानवीय क्षतिको पाटो निकै दुःखद रहेको छ ।
प्रशासनका अनुसार हालसम्म बाढीले बगाएर ल्याएका ३३ वटा शव र शरीरका २६ टुक्रा गरी कुल ५९ वटा अवशेष फेला परेका छन् । यी शवहरूमध्ये पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७ वटा, काठमाडौंको टिचिङ अस्पतालमा ७ वटा र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २३ वटा राखिएका थिए । जसअनुसार हालसम्म ६ जना मृतकको मात्र पहिचान खुलेको छ भने शव परिवारले बुझिसकेका छन् । पहिचान हुन नसकेका अन्य शवहरूलाई कानुनी र वैज्ञानिक प्रक्रिया (डीएनए संकलन) पूरा गरी गजुरीस्थित भोटे चिहान सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ ।बाढीमा परी बेपत्ता हुनेहरूको संख्या निकै उच्च रहेको छ । आफन्त र स्थानीय तहबाट प्राप्त विवरण अनुसार धादिङका विभिन्न पालिकाका गरी कुल १४७ जना अझै सम्पर्कविहीन छन् । जसमा नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा बढी ३६ जना र थाक्रे गाउँपालिकाबाट २२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धादिङ घर भई रसुवा र नुवाकोटमा कार्यरत कर्मचारीहरू तथा गोसाइँकुण्ड मेला गएका मानिसहरू समेत रहेको प्रशासनले जनाएको छ । यसका साथै, बाढीका कारण गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका गरी कुल ५२९ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
भौतिक पूर्वाधारतर्फ बाढीले धेरै क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा गरी ७ वटा पक्की पुल र १६ वटा झोलुङ्गे पुलमा पूर्ण वा आंशिक क्षति पुगेको छ । कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटारका पक्की पुलहरू ध्वस्त हुँदा यातायात आवागमनमा गम्भीर असर परेको छ । त्यस्तै, पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा सडक भासिएका कारण दुईतर्फी बाटो अवरुद्ध भएको छ । बेनीघाट रोराङको कृष्ण भिर, गजुरीको परेवा भिर र सितलबजार क्षेत्रमा सडकको तल्लो भाग बाढीले बगाउँदा यातायात सञ्चालनमा चुनौती थपिएको छ ।विपदको यस घडीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ८ सयभन्दा बढी सुरक्षाकर्मीहरू शव व्यवस्थापन, प्रतिकार्य र सुरक्षामा खटिएका छन् । विस्थापित भएका परिवारहरूलाई गल्छी र गजुरीका विभिन्न क्याम्पस तथा सरकारी भवनहरूमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ । यसैबीच, बाढीले बगाएको धनमाल चोरी गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सिद्धलेकको त्रिशूली किनारमा फेला परेको एक सेफ (भल्ट) बाट ६३ हजारभन्दा बढी नगद र सुनचाँदीका सिक्काहरू बरामद गरी सुरक्षित राखिएको छ । प्रशासनले क्षतिको विवरण अझै संकलन भइरहेको जनाएको छ ।




.gif)





