images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • मुस्ताङमा छिटो पाक्ने स्याउको टिपाइ सुरु,...

मुस्ताङमा छिटो पाक्ने स्याउको टिपाइ सुरु, तीजलाई लक्षित गरी बजार पठाइँदै

मुस्ताङमा छिटो पाक्ने स्याउको टिपाइ सुरु, तीजलाई लक्षित गरी बजार पठाइँदै

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ।जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन्।जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए।

    images
    images

    यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो।कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए। उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो।कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ। जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ।

    किसान भीम गुरुङको स्याउ बगैँचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिए। जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडौं पुर्‍याउने तयारी भइरहेको बताए।स्थानीय भीम गुरुङको स्याउ बगैँचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पुर्‍याउने, स्याउको ग्रेडिङ, नापतौल र प्याकेजिङलगायत स्याउ लोड गर्ने कार्यका लागि करिब तीन दर्जन कामदार परिचालित गरिएको छ। व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौं पुर्‍याउने योजना रहेको बताए। उनका अनुसार उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताए।

    images
    images

    यसैगरी घरपझोङ-५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौं पुर्‍याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिनुभयो। फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौँमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाइ छ।जिल्लामा स्याउको यहाँ सुरु भएसँगै यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्न थालेका छन्। स्याउको सिजन सुरु भएसँगै मुस्ताङमा स्याउ व्यापारीहरुको चहलपहल बाक्लिएको छ। स्याउ व्यापारीहरुले साउनअगावै किसानको बगैँचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ सङ्कलन गर्न मुस्ताङ आउने गर्छन।जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो। मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend