सुर्खेत । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् ।दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार रकम जम्मा गरिसकिएको कांग्रेसले जनाएको छ ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना सांसद छन् । उनीहरूबाट २ लाख २५ हजार रुपैयाँ संकलन भएको छ ।यस्तै, एमाले संसदीय दलले पनि प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक टेकराज पछाईले बताए ।कर्णाली प्रदेश सभामा एमालेका १० जना सांसद छन् । उनीहरूबाट १ लाख ५० हजार रुपैयाँ संकलन हुनेछ ।कांग्रेस र एमालेका सांसदबाट गरी रसुवा बाढी प्रभावितका लागि कुल ३ लाख ७५ हजार रुपैयाँ सहयोग हुने भएको छ ।




.gif)



