काठमाडौँ । केएल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री पठाउने भएको छ । ग्रुपले भदौ १५ गते बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउन लागेको हो ।विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्री पठाउन लागिएको ग्रुपले जनाएको छ । पहिलो चरणमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, दालमोठ तथा विभिन्न मसलालगायत सामग्री पठाइनेछ ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको तथा यातायातमा समस्या रहेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने ग्रुपले जनाएको छ । संकटको समयमा प्रभावित परिवारसँगै उभिएर मानवीय सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा रहेको ग्रुपको भनाइ छ ।सन् १९८९ मा स्थापित केएल दुगड ग्रुप नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रको प्रतिष्ठित व्यावसायिक समूह हो । ग्रुपले खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्स उत्पादनको उत्पादन र बजारीकरण गर्दै आएको छ ।ग्रुपअन्तर्गत ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा र लिभप्योरलगायत ब्रान्ड बजारमा रहेका छन् ।




.gif)



