काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार बाढीमा परी अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् भने १० हजार ४५१ जनाको विभिन्न माध्यमबाट उद्धार गरिएको छ ।
बाढीमा परी सुरक्षाकर्मी समेत बेपत्ता छन् । नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८६५ जना, नुवाकोटका १५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना, मकवानपुरका ६५ जना बेपत्ता रहेका छन् ।बाढीमा विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।
प्रभावित क्षेत्रमा ३७ ट्रक र ३५ बोलेरोमा राहत
प्राधिकरणले सोमबार जनाएअनुसार बाढी प्रभावित स्थानमा हालसम्म ३७ वटा ट्रक र ३५ वटा बोलेरोमार्फत खाद्य र गैरखाद्य सामग्री पठाइएको छ । त्यस्तै ८ वटा हेलिकोप्टरमार्फत उद्धार सामग्री प्रभावित क्षेत्रमा पठाएको सरकारले जनाएको छ ।भदौ १४ गते रसुवा जिल्लाका लागि स्थलमार्ग एवम् हवाई मार्गबाट ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य (औषधी तथा स्वास्थ्य सामग्री) पठाउनुका साथै नुवाकोट जिल्लामा १६ वटा सवारीसाधन तथा हेलिकोप्टर सामग्री परिचालन गरेको जनाएको छ ।




.gif)





