काठमाडौं । रसुवाको बाढीले बगाएको बैंकको अर्को सेफ (भल्ट) धादिङको मलेखु खोला किनारमा फेला परेको छ। उद्धारकर्ता र प्रहरीले उक्त भल्ट सुरक्षित रूपमा बाहिर निकालेर जिल्ला प्रशासन कार्यालयमा राखेका छन्। यसअघि पनि बाढीले बगाएको अर्को भल्ट फोडेर रकम बाँडेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको थियो।
गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका १० वटा बैंक शाखा बगाउनुका साथै ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन्।कार्यालयहरू पूर्ण रूपमा बगाउँदा बैंकमा रहेको नगद, ऋणीले धितो राखेको सुनचाँदी र भल्टहरू पनि नदीमा मिसिएका थिए । बाढीले बगाउँदै ल्याएको एउटा भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत सो भल्ट स्थानीयले फोडेर पैसा बाँडेको भन्दै लगातार आवाज उठाउँदै आएकी थिइन् । उनले गल्छीका एक वडाअध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् ।




.gif)



