काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित आवास तथा पुनःस्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरिएको हो।
सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग समन्वय गरी सहयोग रकम वास्तविक बाढीपीडित परिवारको पुनर्वास तथा पुनःस्थापनामा प्रभावकारी रूपमा खर्च गरिने जनाइएको छ।
बीएलसी परिवारले बाढीका कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा सामाजिक संघसंस्थाप्रति बीएलसी परिवारले सम्मान व्यक्त गरेको छ।
बाढी प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा सुरक्षित आवास तथा पुनःस्थापनाको आवश्यकता रहेको भन्दै विपत्तिको समयमा पीडितको सहयोगमा जुट्न सबै पक्षलाई आग्रहसमेत गरिएको छ।




.gif)





