काठमाडौँ । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावित नागरिकलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।
हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प प्रयोग गर्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउन थालेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई गाडीमार्फत महावीर सम्म पुर्याइनेछ।
महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाइएको मुख्यमन्त्री थापाले जानकारी दिए।
उद्धारका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बस सञ्चालनमा ल्याएको छ। धुन्चेसँगै चौगटीमा पनि बाढी प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै गरेको छ।
उद्धारको क्रममा नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ।
मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास
यसैबीच, प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत अघि बढाएको जनाएको छ।
बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि धुन्चेलगायत प्रभावित क्षेत्रमा उद्धार तथा आवतजावतमा समस्या देखिएको छ। वैकल्पिक मार्ग प्रयोग गरी नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तथा सडक सञ्चालनमा ल्याउने कामलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।




.gif)





