काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ।
शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो।
सीमा सुरक्षा चौकी टिमुरेबाट सप्रनिको कमान्डमा खटिएको ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको जनाएको छ। उद्धारका क्रममा बालिका गम्भीर र अचेत अवस्थामा फेला परेकी थिइन्।
चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको जनाइएको छ। यद्यपि, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।
माटोमुनिबाट आएको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनुले उद्धार टोलीको सतर्कता र खोज तथा उद्धार कार्यको महत्त्व थप उजागर गरेको छ। बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।




.gif)





