काठमाडौं, १२ भदौ । भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा विभिन्न संस्थाले आफूखुसी आर्थिक रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत जुटाउने नाममा कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेको भन्दै सरकारले त्यस्ता गतिविधिप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो।
प्रधानमन्त्रीको सचिवालयले विपद्को संवेदनशील अवस्थामा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले सरकारले सार्वजनिक गरेका आधिकारिक क्युआर कोड तथा बैंक खाता नम्बरमार्फत मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।
राहत तथा उद्धारका नाममा संकलन हुने रकमको पारदर्शी उपयोग, उचित व्यवस्थापन र वास्तविक पीडितसम्म सहयोग पुर्याउन आधिकारिक माध्यमबाट मात्र रकम जम्मा गर्नुपर्नेमा सचिवालयले जोड दिएको छ।
प्रधानमन्त्रीको सचिवालयले अनधिकृत रूपमा रकम सङ्कलन गर्ने कार्यबाट आर्थिक ठगीको जोखिमसमेत बढ्न सक्ने भएकाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सार्वजनिक गरिएका क्युआर कोड र व्यक्तिगत बैंक खातामा रकम पठाउनुअघि त्यसको आधिकारिकता पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सचिवालयले भनेको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जनधनमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ। यस्तो अवस्थामा राहतका नाममा हुने रकम सङ्कलनलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले आधिकारिक माध्यमलाई प्राथमिकता दिन आग्रह गरेको हो।
सरकारले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न इच्छुक व्यक्ति, व्यवसायी, संघसंस्था तथा अन्य दातालाई सहयोग रकमको सही उपयोग सुनिश्चित हुने गरी सम्बन्धित सरकारी निकायले तोकेका आधिकारिक माध्यम प्रयोग गर्न आग्रह गरेको छ।




.gif)





