काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीको सतह निरन्तर बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशी नदीमा आएको बाढी स्याप्रुबेसीसम्म पुगेको छ। नदीको बहाव बढिरहेको अवस्थामा तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको हो।
महाशाखाका अनुसार भोटेकोशीको बाढीका कारण त्रिशूली नदीको बहावसमेत प्रभावित हुनसक्ने भएकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको छ।
नदी आसपासका क्षेत्रमा रहेका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा बाढीको जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दा तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
बाढीको बहावमा अचानक वृद्धि हुनसक्ने भएकाले नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ।
भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेकाले स्थानीय तह र सम्बन्धित निकायलाई समेत सम्भावित विपद्का लागि तयारी अवस्थामा रहनुपर्ने अवस्था देखिएको छ।




.gif)





