विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य राहत सामग्री उपलब्ध गराउने भएको छ ।सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडा र प्रमुख सल्लाहकार उद्योगी महेश जाजुको विशेष पहलमा १ लाख प्याकेट चाउचाउ, १ लाख प्याकेट बिस्कुट र १ लाख प्याकेट जुस राहतस्वरूप उपलब्ध गराउने निर्णय गरिएको हो ।
अध्यक्ष सारडाको नेतृत्वमा गएको परिसंघको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरी उक्त राहत सहयोगबारे जानकारी गराएको सिएनआईले जनाएकोछ । भेटमा देशको औद्योगिक अवस्था, उद्योगी–व्यवसायीका चुनौती र लगानीमैत्री वातावरण निर्माणका विषयमा सुझाव प्रस्तुत गरेको जनाइएको छ।परिसंघले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि मातहतका उद्योगी, व्यवसायी र औद्योगिक प्रतिष्ठानलाई यसअघि नै सहयोगमा जुट्न आह्वान गरिसकेको जनाएको छ।भेटका क्रममा सीएनआई कोशीले वर्तमान आर्थिक शिथिलताका कारण उद्योग–व्यवसाय क्षेत्रले गम्भीर चुनौती भोगिरहेको उल्लेख गर्दै स्थिर, स्पष्ट र समयसापेक्ष औद्योगिक नीति आवश्यक रहेको धारणा राखेको छ। परिसंघले निजी क्षेत्र र सरकारबीचको सहकार्य बलियो बनाउन तथा उद्योगी–व्यवसायीले निर्धक्क भएर लगानी गर्न सक्ने विश्वासको वातावरण सिर्जना गर्न सरकारको अभिभावकीय भूमिका आवश्यक रहेको जनाएको छ।
आसन्न चाडपर्वलाई लक्षित गर्दै चिनी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु सर्वसाधारणलाई सुलभ मूल्यमा उपलब्ध गराउन भन्सार दरमा आवश्यक परिमार्जन गर्नुपर्ने सुझाव पनि दिइएको छ । त्यस्तै, भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले चीनसँगको व्यापारिक मार्गमा देखिएको जोखिमलाई ध्यानमा राख्दै ८८रानी–विराटनगर–किमाथाङ्का राजमार्ग८८लाई वैकल्पिक व्यापारिक मार्गका रूपमा उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा निर्माण गर्नुपर्ने विषय उठाइएको छ।सीएनआई कोशीले सुनसरीको अमडुवामा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज) को योजना तत्काल स्वीकृत गरी निर्माण अघि बढाउन पनि आग्रह गरेको छ। यसबाट कोशी प्रदेशका उद्योगको संरक्षण, विस्तार र आन्तरिक लगानी प्रवर्द्धनमा सहयोग पुग्ने परिसंघको विश्वास छ।भेटका क्रममा रवि लामिछानेले परिसंघले उठाएका विषय समसामयिक र मुलुकको हितसँग जोडिएका रहेको बताएको विज्ञप्तिमा उल्लेख छ। विपत्तिको तत्कालीन अवस्थाबाट बाहिरिएपछि उद्योग–व्यवसाय क्षेत्रका मुद्दालाई पार्टीले विशेष प्राथमिकताका साथ सरकारका प्रतिनिधिसँग छलफल गर्ने प्रतिबद्धता उनले जनाएको सीएनआई कोशीले बताएको छ।भेटघाटमा सीएनआई कोशीका अध्यक्ष सारडा, प्रमुख सल्लाहकार जाजुसहित परिसंघका अन्य उद्योगी सदस्यहरूको सहभागिता रहेको थियो।




.gif)





