काठमाडौँ । बाढीपीडितको सहयोगार्थ चलचित्र विकास बोर्डले च्यारिटी शो आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डले बिहीबार आकस्मिक बैठक बसी राहत तथा सहयोगका लागि पाँचवटा महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डी.सी.)को अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीहरूको तत्काल विवरण सङ्कलन गर्नेदेखि चलचित्र क्षेत्रलाई संगठित रूपमा उद्धार र राहत अभियानमा परिचालन गर्नेसम्मका निर्णयहरू गरेको हो । सोही बैठकमा बोर्डका अध्यक्ष डीसीले व्यक्तिगत तर्फबाट आफ्नो आधा महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा समेत गरेका छन् ।
यस्ता छन् बोर्डमा ५ निर्णय
१. विवरण सङ्कलन : बाढीपहिरोबाट जनधनको क्षति व्यहोरेका चलचित्रकर्मीहरूको वास्तविक विवरण एकीकृत गरी बोर्डमा उपलब्ध गराउन सम्पूर्ण पेशागत संघ–संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गर्ने।
२. राहतको पहल : प्राकृतिक विपत्तिबाट प्रत्यक्ष प्रभावित बनेका चलचित्रकर्मीहरूलाई आवश्यक राहत उपलब्ध गराउन ’चलचित्रकर्मी कल्याणकारी कोष’ को अवस्था हेरी आवश्यक पहलकदमी चाल्ने।
३. च्यारिटी शोको आयोजना : बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न चलचित्रकर्मी संघ–संस्थाहरूलाई चलचित्र उपलब्ध गराउने र उक्त शोहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने वातावरण मिलाउने।
४. सचेतना र भ्रम निवारण : विपद्को संवेदनशील समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अनावश्यक भ्रम, त्रास तथा तथ्यहीन सूचना फैलिन नदिन चलचित्र क्षेत्रका संघ–संस्थाहरूलाई संयमता अपनाउन आग्रह गर्ने।
५. हातेमालो र जनचेतना : उद्धार तथा राहत कार्यमा हातेमालो गर्न चलचित्रकर्मीहरूलाई आह्वान गर्ने तथा विपद् व्यवस्थापन र सुरक्षासम्बन्धी जनचेतनामूलक सामग्री निर्माण गरी प्रचार–प्रसार गर्ने।




.gif)





