बुटवल । रुपन्देही उद्योग सङ्घको ४८औँ वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ। सङ्घको कार्यसमिति बैठकले साधारण सभा असोज २६ गते गर्ने निर्णय गर्दै तयारीका लागि विभिन्न जिम्मेवारीसमेत तोकेको छ।सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकले साधारण सभा तयारीका लागि पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरेको महासचिव सुमन बस्यालले जानकारी दिए।
साधारण सभामा विधान संशोधनका लागि निवर्तमान अध्यक्ष दिलीप सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले सङ्घको विद्यमान विधान संशोधनका लागि आवश्यक प्रक्रिया पूरा गरी प्रस्ताव साधारण सभामा पेस गर्नेछ।त्यस्तै, कार्यसमिति सदस्य किरण खरेलको संयोजकत्वमा ब्याग तथा खाना व्यवस्थापन समिति गठन गरिएको छ । साधारण सभाका लागि वार्षिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी महासचिव बस्याललाई र आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी कोषाध्यक्ष विशाल बेल्वासेलाई दिइएको छ।रुपन्देहीका उद्योगीहरूको साझा संस्थाका रूपमा रहेको सङ्घमा हाल करिब १ हजार १ सय उद्योगी आबद्ध छन् । सङ्घको ४८औँ वार्षिक साधारण सभा बुटवल–४ स्थित सङ्घकै भवनमा आयोजना गरिने सङ्घका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताए।




.gif)



