images

२०८३ आश्विन १६ गते

images
images
images

जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग

जोखिममा धनगढीको इन्धन डिपो, स्थानान्तरणको माग

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • धनगढी– धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घर अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्।

    images
    images

    डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ। डिपो स्थानान्तरणका लागि आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको धर्मसिंहले बताए। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्यांक नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ। “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ,” माधवीले भनिभन्, “डरले रातभर निद्रा पर्दैन। निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।”

    केही वर्ष पहिले जंगल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सिपी अस्पताल सहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन्। 

    images
    images

    नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न आग्रह गरेको धर्मसिंहले बताए। 

    चटकपुरकै स्थानीय भीम मल्लले घनाबस्ती बीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाए। “कतिबेला आगलागी हुन्छ। सधैँ चिन्तित छौँ,” उनले भने, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्।” 

    केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउँछन्। 

    “डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्। कसैगरी ‘डिजास्टर’ भयो भने आसपास मात्र नभई सिंगो नगर नै प्रभावित हुनसक्छ,” प्रमुख हमालले भने, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ। दुर्घटनाको जोखिम छ। बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक–पटक आग्रह गरिएको बताए।  

    डिपो स्थानान्तरण गर्ने निगमको योजना भए पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ। सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन। 

    निगमका उपनिर्देशक प्रदीप यादवले डिपो स्थानान्तरणको प्रयास भइरहेको बताए। “घनाबस्तीका बीचमा डिपो छ। यसलाई स्थानान्तरण गर्नैपर्छ,” उपनिर्देशक यादवले भने, “सुरक्षा मापदण्ड अनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ।” 

    धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीश प्रसाद जैसीले बताए। हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्ने सरकारको योजना छ।

    निगमको धनगढीस्थित डिपोमा अहिले डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्यांक’ र ७० किलोलिटरको भूमिगत ट्यांक तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्यांक र ७० किलोलिटरको भूमिगत ट्यांक सहितको संरचना छन्। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend