भारत । कोलकाताबाट चेन्नईतर्फ उडिरहेको इन्डिगोको विमान अवतरण गर्नुअघि बायाँतर्फको इन्जिनमा समस्या आएपछि चेन्नई विमानस्थलमा आपतकालीन अवस्था घोषणा गरिएको छ। विमानमा सवार २२४ जना यात्रु तथा चालक दलका सदस्यहरू भने सुरक्षित रहेका छन्।
भारतीय विमानस्थल प्राधिकरणका अनुसार मंगलबार राति इन्डिगोको उडान नम्बर ६ई–७२३ कोलकाताबाट चेन्नईका लागि उडेको थियो। राति करिब ११ः३० बजे चेन्नई अवतरण गर्ने तालिका रहेको विमान अवतरणको तयारीमा रहेका बेला बायाँ इन्जिनमा समस्या देखिएको थियो।
इन्जिनले काम गर्न छाडेको जानकारी पाएपछि पाइलटले तत्काल एयर ट्राफिक कन्ट्रोललाई सूचना दिएका थिए। विमानमा देखिएको प्राविधिक समस्यालाई ध्यानमा राख्दै चेन्नई विमानस्थलमा राति ११ः२९ बजे ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो। त्यसलगत्तै विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोलीसहित आवश्यक सबै आपतकालीन संयन्त्र तयारी अवस्थामा राखिएको थियो।
पाइलटको सुझबुझ र सावधानीका कारण विमानले केही मिनेटमै सुरक्षित अवतरण गर्न सफल भएको जनाइएको छ। विमानले राति ११ः३७ बजे चेन्नई विमानस्थलको रनवे–२५ मा सुरक्षित अवतरण गरेको थियो। विमानमा रहेका सबै २२४ जना सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।
विमान सुरक्षित रूपमा अवतरण भएपछि राति ११ः४७ बजे ‘फुल इमर्जेन्सी’ हटाइएको थियो। घटनापछि चेन्नई विमानस्थलमा अन्य उडान तथा विमानको आवतजावतमा कुनै दीर्घकालीन असर नपरेको र सेवा सामान्य रूपमा सञ्चालन भएको जनाइएको छ।
पछिल्लो समय भारतमा विमानसँग सम्बन्धित केही प्राविधिक तथा आकस्मिक घटनाहरू सार्वजनिक भइरहेका छन्। यसअघि अगस्ट ४ मा फुकेतबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एयरबस ए३२० विमान उडानका क्रममा अचानक करिब ३०० फिट तल झरेको घटना पनि भएको थियो। पछि चालक दलले विमानलाई नियन्त्रणमा लिएर दिल्लीमा सुरक्षित अवतरण गराएका थिए।
उक्त घटनामा केही यात्रु तथा चालक दलका सदस्य घाइते भएका थिए। विमानमा तीन नवजात शिशुसहित १३७ यात्रु र आठ जना चालक दलका सदस्य सवार थिए।
इन्डिगोको पछिल्लो घटनामा भने समयमै आपतकालीन तयारी र चालक दलको सावधानीका कारण ठूलो दुर्घटना टरेको छ। विमानको इन्जिनमा समस्या आउनुको कारणबारे सम्बन्धित निकायले थप प्राविधिक जाँच गर्ने जनाइएको छ।




.gif)





