काठमाडौँ। गरिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको ‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री तथा पुनर्खरिद सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणालीसमेत सञ्चालनमा ल्याएको हो।धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत गरिमा सुवर्ण योजना पहिलो खुलामुखी योजना हो।
कोषको प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेका छन् । लगानीकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याइएको गरिमा क्यापिटलले जनाएको छ। नयाँ प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट रूपमा इकाई खरिदका लागि आवेदन दिएर रकम भुक्तानी गर्न सक्नेछन्। त्यस्तै, व्यवस्थित लगानी योजना अर्थात् एसआईपी दर्ता तथा त्यसको किस्ता भुक्तानीसमेत अनलाइनबाटै गर्न सकिनेछ।लगानीकर्ताले लाभांश पुनःलगानी योजना दर्ता, आफ्नो खाता दर्ता तथा लगइन, प्रोफाइल व्यवस्थापन र इकाई पुनर्खरिद पनि अनलाइनबाट गर्न सक्नेछन्। एसआईपीमा संशोधन गर्न वा रद्द गर्नसमेत अनलाइन सुविधा उपलब्ध गराइएको छ। कम्पनीले अहिले उपलब्ध सुविधाबाहेक थप अनलाइन सेवा पनि क्रमशः थप गर्दै जाने जनाएको छ।
अनलाइनबाहेक लगानीकर्ताले काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलको कार्यालय तथा देशभर रहेका गरिमा विकास बैंकका शाखाबाट समेत योजनासम्बन्धी सेवा लिन सक्नेछन्। योजनाका इकाईको खरिद तथा बिक्री तोकिएको कटअफ समयअनुसार निर्धारण हुने खुद सम्पत्ति मूल्यका आधारमा हुनेछ। कम्पनीले लगानी गर्नुअघि योजनाको स्वीकृत विवरणपत्र अध्ययन गर्न आग्रह गर्दै सामूहिक लगानी कोषमा गरिने लगानी बजार जोखिममा आधारित हुने स्पष्ट पारेको छ।




.gif)





