काठमाडौं, २२ साउन । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
लघुवित्तले समीक्षा अवधिमा ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ करोड ७० लाख रुपैयाँको तुलनामा १८१.३६ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफामा उल्लेख्य सुधार आएको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत, कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत तथा सञ्चालन मुनाफा १३४.२५ प्रतिशतले बढेको छ। असार मसान्तसम्ममा १ करोड २ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स भएको वित्तीय विवरणमा उल्लेख छ।
लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७० लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ५० रुपैयाँ ३ पैसा कायम भएको छ। प्रतिशेयर आम्दानी (ईपीएस) ५६ रुपैयाँ ८२ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४ रुपैयाँ ७१ पैसा बढी हो।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको छ। असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा तथा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३२.१५ गुणा रहेको छ।




.gif)





