काठमाडौँ, १९ साउन । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै प्रयोगकर्तालाई डिजिटल वित्तीय अनुशासन पालना गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको डिजिटल युगमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, डिजिटल वालेटलगायतका सेवाहरू दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। यस्ता सेवामार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा सहज, छिटो र कम लागतमा वित्तीय कारोबार गर्न सकिने भएकाले प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको छ।
राष्ट्र बैंकले डिजिटल कारोबारको सुरक्षा प्रयोगकर्ताको सचेतनासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै Username, Password, PIN र OTP जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले डिजिटल वित्तीय अनुशासनका लागि बलियो तथा फरक पासवर्ड प्रयोग गर्ने, मोबाइल नम्बर वा जन्ममिति जस्ता सजिलै अनुमान गर्न सकिने PIN प्रयोग नगर्ने, बैंकिङ खाताको पासवर्ड अन्य सामाजिक सञ्जाल वा इमेल खाताभन्दा फरक राख्ने, तथा सबै खातामा मल्टी–फ्याक्टर अथेन्टिकेसन (पासवर्ड, PIN र OTP) प्रयोग गर्न सुझाव दिएको छ।
त्यसैगरी आधिकारिक वेबसाइट र एप्लिकेसन मात्र प्रयोग गर्ने, ब्राउजरमा वित्तीय विवरण सुरक्षित (सेभ) नगर्ने, समय–समयमा पासवर्ड परिवर्तन गर्ने, अनधिकृत एप डाउनलोड नगर्ने, अपरिचित व्यक्तिसँग स्क्रिन सेयरिङ नगर्ने तथा सुरक्षित वाईफाईमार्फत मात्र वित्तीय कारोबार गर्न पनि आग्रह गरिएको छ। बायोमेट्रिक प्रमाणीकरण (फिङ्गरप्रिन्ट वा फेस आईडी) प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।
राष्ट्र बैंकका अनुसार पासवर्ड चोरी हुने प्रमुख माध्यममा सजिलै अनुमान गर्न सकिने पासवर्ड (Guessing), नक्कली वेबसाइट वा एपमार्फत पासवर्ड संकलन (Harvesting), इन्क्रिप्ट गरिएका पासवर्ड क्र्याक गर्ने प्रयास (Cracking), एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गर्दा हुने Password Spraying तथा Credential Stuffing जस्ता साइबर जोखिमहरू पर्दछन्।
राष्ट्र बैंकले डिजिटल साक्षरता अपनाउन, डिजिटल वित्तीय अनुशासन पालना गर्न तथा कुनै समस्या परेमा वित्तीय ग्राहक संरक्षण इकाइ वा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।





.gif)





