images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं / ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ । वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ ।वडा अध्यक्ष रविन्द्र महर्जनले पत्रकार सम्मेलनमार्फत वडाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए । उनले पूर्वाधार निर्माणसँगै यहाँको मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई विशेष प्राथमिकता दिइएको बताए ।वडाले यस वर्ष स्वास्थ्य क्षेत्रमा समेत विशेष कार्यक्रम ल्याएको छ । नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन तथा स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

    images
    images

    वडाले सडक निर्माण तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ । योजना अन्तर्गत खोकना दोबाटोदेखि कार्य विनायक मन्दिर जाने मूल सडक निर्माण, खोकना दोबाटोदेखि बसपार्कसम्म पेटी तथा फुटपाथ निर्माण, ढोलाहिटी सडक ढलानलगायतका काम समेटिएका छन् ।त्यसैगरी वडा क्षेत्रभित्र रहेका विभिन्न सडक विस्तार तथा सुधारका कार्यक्रम पनि समावेश गरिएको छ । सिजल सडक, रेल सडक, तौखल सडक, सिकली सडक, खोकना धनी सडकलगायतका सडक विस्तार तथा सुधारका योजनाहरू अघि बढाइने भएका छन् ।खानेपानी व्यवस्थापनतर्फ साना खोकना डिप बोरिङ निर्माण तथा सञ्चालन, पाइपलाइन विस्तार, पुरानो बस्तीमा खानेपानी व्यवस्थापनलगायतका योजना राखिएका छन् ।वडाले बागमती नदी तटबन्धन तथा भू–क्षय नियन्त्रणका लागि विभिन्न स्थानमा तटबन्ध निर्माण गर्ने योजना अघि सारेको छ । सिकली, दुवटी, भालुपा, नारायणघाटलगायतका क्षेत्रमा नदी नियन्त्रणसम्बन्धी काम गरिने उल्लेख छ ।

    त्यस्तै, ढल निकास व्यवस्थापनका लागि विभिन्न स्थानमा ढल निर्माण तथा विस्तार गर्ने योजना राखिएको छ । खोकना सिमान क्षेत्रको ढल निकास, बसपार्क क्षेत्रको ढल निर्माण, घुम्ती सडक ढल निर्माणलगायतका कामहरू प्राथमिकतामा छन् ।ललितपुर–२१ को ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन सम्पदा संरक्षणका योजनाहरू पनि समेटिएका छन् । विभिन्न पाटी, ढुंगेधारा, मन्दिर, गुठी घर तथा धार्मिक स्थलहरूको पुनर्निर्माण र मर्मत सम्भार गरिने भएको छ ।वडाले पाटी निर्माण तथा पुनर्निर्माणतर्फ न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका सम्पदाहरूको संरक्षण गर्ने योजना बनाएको छ ।त्यस्तै, गुठी घर निर्माण तथा मर्मत सुधार, धार्मिक स्थल पूर्वाधार निर्माण, इनार संरक्षण तथा संवद्र्धनका कार्यक्रम पनि बजेटमा समावेश छन् ।वडाले कृषि क्षेत्रअन्तर्गत मल उत्पादन, कृषि सामग्री तथा अन्य सहयोगसम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समावेश गरेको छ । साथै महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य लक्षित वर्गलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।वडा कार्यालयले विकास निर्माणसँगै स्थानीय सम्पदा, संस्कृति र परम्पराको संरक्षण गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend