काठमाडौं । नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अघि सारेको हो।आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले आगामी साउन २२ गते विशेष साधारण सभा बोलाएको छ। विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने विशेष साधारण सभामा सर्वसाधारणमा सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।कम्पनी गत आर्थिक वर्षमै निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ। आईपीओ निष्कासनपछि कम्पनीको पुँजी संरचना थप विस्तार हुने र उत्पादन तथा बजार विस्तारका लागि थप स्रोत जुट्ने अपेक्षा गरिएको छ।
पाँच वर्षदेखि निरन्तर नाफामा
ग्रिनप्लाई नेपालले छोटो अवधिमै प्लाइउड उद्योगमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ।कम्पनीका अनुसार पछिल्लो पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ। प्रभावकारी व्यवस्थापन, उत्पादन क्षमता र बजार विस्तारका कारण वित्तीय अवस्था सुदृढ बनेको कम्पनीको भनाइ छ।ग्रिनप्लाईले आफ्नो उत्पादनको करिब ३० प्रतिशत हिस्सा नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ।
कम्पनीले निर्यात प्रवर्द्धनमा योगदान पुर्याएबापत नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको जनाएको छ। भारतीय बजारमा उत्पादन बिक्रीका लागि आवश्यक बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) प्रमाणपत्रसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
ऋण भार घटाउँदै वित्तीय सुधार
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो वित्तीय संरचनामा उल्लेखनीय सुधार भएको जनाएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ।यस अवधिमा कम्पनीमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको र नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) अनुसार सञ्चित नाफा समायोजन भएपछि मूर्त खुद सम्पत्ति (नेट टेन्जिबल एसेट्स) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
उत्पादन क्षमता विस्तार गर्ने योजना
ग्रिनप्लाई नेपालले गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड र फ्लस डोर उत्पादन गर्दै आएको छ। कम्पनीले आधुनिक प्रविधि, दक्ष व्यवस्थापन र गुणस्तर नियन्त्रणमार्फत बजार विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ।आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा प्लाइउडको माग बढ्दै गएको अवस्थामा उत्पादन क्षमता विस्तार, नयाँ बजार प्रवेश र प्रविधिमा लगानी गर्ने योजना कम्पनीको छ।कम्पनीले नेपालमा प्लाइउड आयात प्रतिस्थापन गर्दै आन्तरिक बजारको माग पूरा गर्ने र निर्यात विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
उद्योगी रिजालको नेतृत्वमा सञ्चालन
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपाल लिमिटेडको अध्यक्षमा उद्योगी जीवनप्रसाद रिजाल रहेका छन्।कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनिल अग्रवाल र विवेक अग्रवाललगायतको मुख्य लगानी रहेको छ। त्यस्तै स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड र हार्भेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय, सुधारिएको वित्तीय अवस्था र अनुभवी नेतृत्वका कारण ग्रिनप्लाई नेपाललाई नेपालको उत्पादन क्षेत्रको सम्भावनायुक्त कम्पनीका रूपमा हेरिएको छ। कम्पनीले आईपीओमार्फत सर्वसाधारणलाई सहभागी गराउँदै दीर्घकालीन रूपमा लगानीकर्तालाई प्रतिफल दिने लक्ष्य राखेको जनाएको छ।




.gif)





