वीरगञ्जका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि सिँगारिन थालिएको छ। वीरगञ्ज महानगर भित्र मात्रै एक दर्जन भन्दा धेरै स्थानमा रहेका छठ घाटलाई दुलहीझैँ सिँगारिएको हो ।
सर्वसाधारणले आफ्नो घर दैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजा अर्चना गर्ने परम्परा छ । यसैले यहाँका सर्वसाधारणले घर नजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पारिरहेका छन् ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेश मान सिंह पनि वीरगञ्ज महानगर भित्र मनाइने छठ घाटको नियमित निरीक्षण गरिरहेका छन् । उनले छठ पर्व भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारेको जानकारी दिए ।
वीरगञ्ज महानगर भित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यी बाहेक अन्य स्थानमा पनि छठका लागि आआफ्नो ढङ्गले झकिझकाउ पार्ने काम भइरहेको छ।
वीरगञ्ज महानगर भित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय शहरका पर्यटकको पनि घुइँचो लाग्ने बताउँछन् ।
‘घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौं, पोखरा, नारायणघाट, बुटबल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तो सहित आउन अनुरोध गर्दछु’, उनले भने, ‘नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायत ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउँछन् ।’
समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलीमिलीले पनि अवलोकन कर्ताको मन जित्ने दाबी गरे । ‘हामीले विगत २२ वर्ष देखि घडीअर्वा पोखरीमा छठी माताको पूजा अर्चना गर्दै आइरहेका छौँ’, उनले भने, ‘हामीले छठ पूजामा घडीअर्वा पोखरीको सजावट र डेकोरेसनका लागि कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ। हाम्रो झिलीमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढङ्गले सिँगारिएको छ।’
छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरी भित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए। ‘पूजा अर्चना गर्दा पोखरीमा दियोबत्ती खसेर बसेका हुन्छन्’, उनले भने, ‘पोखरीलाई शुद्ध र स्वच्छ बनाउन पनि सरसफाइको कार्यलाई निकै प्राथमिकता दिँदै आइरहेका छौँ।’ वीरगञ्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगु सङ्क्रमण बढ्न सक्ने भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने पनि काम गरिसकेको छ।
तराई मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ। छठ कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भएर सप्तमीमा समापन हुन्छ। मुख्य दिन भने षष्ठी तिथिलाई मानिन्छ, जुन कात्तिक २२ गते परेको छ।




.gif)





