images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्से ३३.२८ अंकले घट्यो, २७०१.३२ विन्दुमा...

नेप्से ३३.२८ अंकले घट्यो, २७०१.३२ विन्दुमा बन्द

नेप्से ३३.२८ अंकले घट्यो, २७०१.३२ विन्दुमा बन्द

६ अर्ब ८ करोडको कारोबार

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले घट्दै २७०१.३२ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सामान्य सुधार देखिएको बजार सोमबार भने अधिकांश उपसमूहमा बिक्री दबाब बढेपछि दोहोरो अंकले ओरालो लागेको हो।

    images
    images

    सोमबार नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.८६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले पनि गिरावट आएको छ। यसले ठूला कम्पनीसँगै समग्र बजारमा पनि दबाब कायम रहेको संकेत गरेको छ।

    परिसूचकसँगै कारोबार रकममा पनि सामान्य कमी आएको छ। गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३६० वटा स्टकको ६९ हजार ८०३ पटक कारोबार हुँदा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरका १ करोड ३९ लाख २५ हजार कित्ता शेयर किनबेच भएका छन्। कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा माथि रहे पनि अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सक्रियता केही घटेको देखिएको छ।

    images
    images

    कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडले लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट कायम राख्न सफल भयो। कम्पनीको शेयरमूल्य ९७ रुपैयाँ ६० पैसाले बढेर ७४८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरूको शेयरमूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कममै सीमित रह्यो।

    उता, कारोबारमा आएका कम्पनीहरूमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा ठूलो घाटा बेहोरे। कम्पनीको शेयरमूल्य १३.३८ प्रतिशतले घट्दै दिनकै सर्वाधिक गिरावट हुने कम्पनी बनेको छ।

    कारोबार रकमका आधारमा सोमबार रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि ग्लोबल आइएमई बैंकको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

    उपसमूहगत प्रदर्शन हेर्दा सोमबार अधिकांश क्षेत्र दबाबमा देखिएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूह मात्र बढेका छन्।

    सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन उपसमूहमा देखिएको छ, जसको परिसूचक २.३० प्रतिशतले घटेको छ। त्यस्तै होटल तथा पर्यटन र व्यापार उपसमूह पनि २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

    यसबाहेक विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ। यद्यपि बैंकिङ र म्युचुअल फण्ड उपसमूहले भने सामान्य वृद्धि दर्ज गर्दै हरियो बन्द भएका छन्।

    बजार विश्लेषकहरूका अनुसार पछिल्ला केही दिनको वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्ने प्रवृत्ति (प्रफिट बुकिङ) अपनाउँदा बजारमा बिक्री चाप बढेको देखिएको छ। यद्यपि कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा माथि कायम रहनुले बजारमा लगानीकर्ताको सहभागिता अझै सक्रिय रहेको संकेत गरेको छ।

    अब आगामी कारोबारमा नेप्सेले २७०० विन्दुलाई समर्थन कायम राख्न सक्छ वा थप दबाबमा जान्छ, भन्ने विषय लगानीकर्ताको मुख्य चासोको विषय बनेको छ। बजारको आगामी दिशा बैंकिङ, जलविद्युत र उत्पादन क्षेत्रका ठूला कम्पनीहरूको कारोबार तथा लगानीकर्ताको मनोविज्ञानले निर्धारण गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend