काठमाडौं । अष्ट्रेलियाको बलियो कानुनी व्यवस्था, जनचेतना र प्रभावकारी संस्थागत संयन्त्रले पशु कल्याण तथा वन्यजन्तु संरक्षणलाई उच्च प्राथमिकता दिएको भन्दै नेपालले पनि यस्ता सफल अभ्यासबाट सिक्न सक्ने सुझाव दिइएको छ।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय परिकारसम्बन्धी खाद्य शब्दकोश ‘फालाङ फुड डिक्सनरी’ का लेखक तथा हाम्रा अष्ट्रेलिया संवाददाता शिव न्यौपानेका अनुसार पशु कल्याण केवल कानुनी विषय मात्र नभई समाजको साझा जिम्मेवारीका रूपमा विकास हुनुपर्छ। उनले संकटमा परेका वन्यजन्तुको उद्धार, हराएका घरपालुवा जनावरको दर्ता तथा खोज प्रणाली, माइक्रोचिपको प्रयोग र जिम्मेवार पशुपालनजस्ता अभ्यास नेपालका लागि पनि उपयोगी हुन सक्ने बताएका छन् ।
उनका अनुसार अष्ट्रेलियामा जनावरमाथि हुने क्रूरतालाई कानुनले कडाइका साथ नियन्त्रण गरेको छ भने वन्यजन्तुको संरक्षण, राष्ट्रिय निकुञ्जमा जनावरलाई खाना नखुवाउने नियम तथा मनोरञ्जनात्मक माछा मार्नसमेत अनुमति प्रणाली लागू गरिएको छ। यस्ता अभ्यासले जैविक विविधता संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीलाई दीगो बनाउन सहयोग पुगेको उल्लेख गरिएको छ।
न्यौपानेले नेपालमा पार्क, तालतलैया तथा पर्यटकीय क्षेत्रमा वन्यजन्तुलाई मानिसले खाने जंक फुड वा अन्य खाना नखुवाउने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार वन्यजन्तुलाई प्राकृतिक जीवनशैलीमै बाँच्न दिनु नै दीर्घकालीन संरक्षणको आधार हो।
नेपालमा छाडा पशु व्यवस्थापन, सीमित पशु चिकित्सकीय सेवा तथा अपर्याप्त पूर्वाधार अझै चुनौतीका रूपमा रहे पनि पछिल्ला वर्षहरूमा खोप, बन्ध्याकरण, उद्धार र दत्तक ग्रहण कार्यक्रम विस्तार हुँदै गएको उल्लेख गरिएको छ। विशेषगरी युवा पुस्तामा जिम्मेवार घरपालुवा जनावर पालन र पशु अधिकारप्रतिको सचेतना बढ्दै गएको सकारात्मक संकेत देखिएको छ।
उनले पशु कल्याणलाई सांस्कृतिक परम्परासँग विरोधाभासका रूपमा नभई करुणा, सार्वजनिक स्वास्थ्य, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणसँग जोडिएको साझा मूल्यका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। अष्ट्रेलियाका सफल अभ्यासलाई नेपाली परिवेशअनुसार अपनाउन सके नेपाल अझ मानवीय, सभ्य र सबै जीवप्रति सम्मानजनक समाज निर्माणतर्फ अघि बढ्न सक्ने उनको भनाइ छ।




.gif)





