काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै दुवै जनालाई जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक जस्तो सार्वजनिक पदमा बहाल रहेकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत सुनाइएको छ । यससँगै पौडेलले कुल ८ वर्ष ६ महिना जेल बस्नुपर्नेछ । यस्तै, दुवै प्रतिवादीहरूबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी ‘अपराध पीडित राहत कोष’ मा जम्मा गर्न समेत अदालतले आदेश दिएको छ ।
पौडेल र आनन्दले तत्कालको विनिमय दर बमोजिम ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ (अमेरिकी डलर २ लाख ८० हजार) रिसवत (घुस) लिन मञ्जुर गरेको प्रमाण भेटिएको छ । मिसिलमा संलग्न संवादका आधारमा उनीहरूले उक्त रकम माग गरेको पुष्टि भएको अदालतको ठहर छ । अदालतले ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकेको हो ।विदेशी कम्पनीसँग सफ्टवेयर वा उपकरण खरिद गर्ने प्रक्रियामा कमिसन र घुस लेनदेनको विषयमा भएको कुराकानीलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि उक्त घुस रकम बरामद नभएको र कुन बैंकमा जम्मा भएको भन्ने नखुले पनि संवादकै आधारमा उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।




.gif)



