काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा पुराना प्रतिद्वन्द्वी इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। विश्वकप इतिहासमै चर्चित प्रतिस्पर्धामध्ये एक मानिने यो खेल बुधबार एटलान्टा स्टेडियममा हुँदैछ।इंग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ भने अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा रहेको छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना यसपटक उपाधि रक्षा गर्ने यात्रामा एक कदम टाढा पुगेको छ।इंग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४–२ ले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको इंग्ल्यान्डले पानामालाई २–० ले पराजित गर्दै समूह विजेता बनेर नकआउट चरणमा पुगेको थियो। उसले अन्तिम ३२ मा कंगो डीआर र अन्तिम १६ मा आयोजक मेक्सिकोलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जुड बेलिङ्घम मुख्य हतियार बनेका छन्। दुवैले प्रतियोगितामा ६–६ गोल गरिसकेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका दुई खेलाडीले ६ वा बढी गोल गरेको यो पहिलोपटक हो।यता अर्जेन्टिनाले समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको छ। कप्तान लियोनल मेसीले प्रतियोगिताको सुरुवातमै अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा बनाएका थिए। अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट र क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा छैटौँ पटक पुगेको छ। यसअघि पाँचपटक सेमिफाइनल पुगेको अर्जेन्टिना सबैपटक फाइनल प्रवेश गर्न सफल भएको छ। टोली ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ।
अर्जेन्टिनाका लागि मेसीसँगै जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, रोड्रिगो डि पाउल र एन्जो फर्नान्डेज महत्वपूर्ण खेलाडी छन्। गोलरक्षक एमिलियानो मार्टिनेजले पनि टोलीलाई बलियो बनाएका छन्।फिफा विश्वकप इतिहासमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा सधैं चर्चामा रहँदै आएको छ। दुवै टोलीबीचको यो भिडन्तले विश्वकप २०२६ को फाइनल पुग्ने अर्को टोली तय गर्नेछ। विजेताले फाइनलमा स्पेनसँग जुलाई १९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
सम्भावित सुरुआती टोली
इंग्ल्यान्ड: पिकफोर्ड, जेम्स, कोन्सा, गेही, ओ’राइली, एन्डरसन, राइस, साका, बेलिङ्घम, गोर्डन, केन
अर्जेन्टिना: एमिलियानो मार्टिनेज, मोलिना, रोमेरो, लिसान्द्रो मार्टिनेज, टाग्लियाफिको, डि पाउल, परेडेस, म्याक एलिस्टर, फर्नान्डेज, मेसी, अल्भारेज




.gif)





