काठमाडौं । नेपाली सेफ भवी खनालले फाइन डाइनिङ, ग्यास्ट्रोनोमी र दिगो पाककलाको क्षेत्रमा १६ वर्षभन्दा बढी अनुभवसहित अन्तर्राष्ट्रिय स्तरको पहिचान स्थापित गरेका छन्।
एक्जिक्युटिभ सेफ, कुलिनरी डाइरेक्टर तथा सेफ कन्सल्टेन्टका रूपमा उनले विभिन्न प्रतिष्ठित रिसोर्ट तथा रेस्टुरेन्टमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मेनु विकास, किचन व्यवस्थापन, खाद्य गुणस्तर, लागत नियन्त्रण र सेवा उत्कृष्टतामा योगदान दिएका छन्।
नेपाल कुलिनरी कलेजबाट पाककलाको अध्ययन सुरु गरेका खनालले होटल व्यवस्थापन तथा नेतृत्वमा स्नातक र एमबीएसमेत पूरा गरेका छन्। स्थानीय सामग्री, परम्परागत स्वाद र आधुनिक अन्तर्राष्ट्रिय पाकशैलीलाई संयोजन गर्दै उनले सिर्जना गर्ने परिकार स्वाद, प्रस्तुति र गुणस्तरका दृष्टिले विशिष्ट मानिन्छ।
उनी पाककलाका दक्ष सेफ मात्र नभई युवा सेफहरूको सीप विकास, प्रशिक्षण र नेतृत्वमा पनि सक्रिय छन्। दिगो पाककला, फ्युजन कुलिनरी, ग्यास्ट्रोनोमी र खाद्य नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै उनले नेपाली आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास गरिरहेका छन्।
नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले भवी खनालजस्ता दक्ष नेपाली सेफहरूको अनुभव र योगदानलाई राज्यले उचित सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन्। उनका अनुसार यस्ता जनशक्तिले नेपालको पर्यटन, आतिथ्य उद्योग र नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
सेफ खनालका अनुसार ग्यास्ट्रोनोमी केवल खाना पकाउने कला मात्र नभई संस्कृति, स्वाद र मानिसहरूलाई एकै ठाउँमा जोड्ने माध्यम हो। निरन्तर अध्ययन, अनुशासन र सिर्जनशीलतालाई सफलताको आधार मान्ने उनी आधुनिक पाककलामार्फत नेपालको पहिचान विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन्।




.gif)





