काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि सर्दै नेपालको तराई भू–भाग नजिक रहेकाले मौसममा व्यापक प्रभाव परेको हो।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
हिमाली क्षेत्रका लागि पनि मौसम सक्रिय रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेको छ भने तराई क्षेत्रमा डुबान र जलभरावको सम्भावना पनि रहेको मौसमविद्को भनाइ छ। नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले वर्षायाममा आवश्यक बाहेक लामो दूरीको यात्रा गर्दा मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।




.gif)





