images

२०८३ आश्विन १७ गते

images
images
images

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • तेहरान, २५ असार (रासस–एएफपी) । रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ ।

    images
    images

    अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कारबाही गरिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम० का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ । इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन् । केही स्थानमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले त्यसको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताले बताएका छन् भने कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू अवरोध गरिएको जनाएको छ । अमेरिकी अधिकारीका अनुसार इरानको पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन ।

    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताउँदै थप वार्ताका लागि ढोका भने खुला रहेको उल्लेख गरेका छन् । उनले ट्रुथ सोसलमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिए। एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले इरानी पक्षबाट सम्पर्क भएको दाबी गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गरेनन ।

    यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने स्पष्ट पारेका छन् । । उनले अमेरिकाले धम्की र प्रतिबद्धता उल्लङ्घनको परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि आक्रमण भए जवाफ पनि त्यहीअनुसार दिइने बताउछन् ।

    फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राख्ने नीति अघि बढाउँदै आएको छ । तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्गबाट विचलित हुने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हालैका दिनमा इरानले कम्तीमा तीनवटा जहाजमा आक्रमण गरेको घटनापछि अमेरिकाले व्यापक सैन्य कारबाही थालेको हो ।

    पछिल्ला आक्रमणहरू फेब्रुअरी २८ मा युद्धको सुरुआतमै मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको बिहीबार हुने अन्त्येष्टिअघि भएका हुन् । प्रारम्भिक आक्रमणमा दुवै पक्षले दर्जनौँ लक्ष्यमा प्रहार गरेको बताएका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार आठ जना इरानी सैनिक मारिएका छन् भने सेन्टकमले यसअघि ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो ।

    क्षेत्रीय तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन् । अमेरिका–इरान संवादका मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि तनाव नियन्त्रणका लागि कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि क्षेत्रीय समस्या समाधानका लागि कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको इरानले जनाएको छ ।

    हर्मुजको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि कुनै पक्षलाई प्रत्यक्ष दोष दिएको छैन । ओमानले युद्धभरि तटस्थ भूमिका कायम राख्दै जलघाँटीको प्रशासन र समुद्री सुरक्षासम्बन्धी विषयमा वार्तालाई निरन्तरता दिइरहेको छ । अमेरिका जहाजहरूको निःशुल्क आवागमनको पक्षमा रहे पनि इरानले शुल्क प्रणाली लागू गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ ।

    गत महिना अमेरिका र इरानबीच शत्रुता अन्त्य गर्ने सहमतिपछि केही समय समुद्री यातायात पुनः सञ्चालनमा आएको थियो । तर पछिल्लो तनावपछि पुनः जोखिम बढेको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार करिब छ हजार नाविक अहिले पनि यस क्षेत्रका विभिन्न जहाजमा फसेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend