काठमाडौँ । टर्कीको राजधानी अंकारामा मंगलबारदेखि दुईदिने नेटो शिखर सम्मेलन सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन पुनः दबाब दिइरहेका बेला सम्मेलन सुरु भएको हो । त्यसको जवाफस्वरूप युरोपेली देशहरूले अर्बौं डलर बराबरका नयाँ सैन्य सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ ।
गत वर्षको नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्म कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा तथा सुरक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य तय गरेका थिए । त्यसअनुसार ३.५ प्रतिशत प्रत्यक्ष सैन्य खर्च र १.५ प्रतिशत सुरक्षा सम्बन्धी अन्य आवश्यकतामा खर्च गर्ने सहमति भएको थियो ।
को–को सहभागी छन् ?
यस साताको शिखर सम्मेलनमा नेटोका सबै ३२ सदस्य राष्ट्रका नेता सहभागी भएका छन् । त्यसका अतिरिक्त नेटो सदस्य नभएका दुई राष्ट्रप्रमुख पनि सम्मेलनमा उपस्थित छन् । ती हुन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ ।अस्ट्रेलिया, जापान र न्युजिल्यान्डले आफ्ना रक्षा वा परराष्ट्र मन्त्री पठाएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धबाट प्रभावित खाडी मुलुकहरू (बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स)का प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन् ।सिरियाका राष्ट्रपति अहमद अल–शारा सम्मेलनमा सहभागी नहुने अपेक्षा गरिएको छ । तर उनले अंकारामै राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ट्रम्प नेटोसँग के चाहन्छन् ?
ट्रम्पले पहिलो पटक राष्ट्रपति पदका लागि चुनाव लडेदेखि नै नेटोको उपयोगितामाथि प्रश्न उठाउँदै आएका छन् । उनको तर्क छ कि नेटोको सुरक्षा खर्चको असमान भार अमेरिकाले मात्र बोकिरहेको छ । त्यतिबेला सदस्य राष्ट्रमध्ये केवल पाँच देशले मात्रै जीडीपीको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता पूरा गरेका थिए ।साझा सुरक्षाको जिम्मेवारीबारे ट्रम्पले निरन्तर दबाब दिएपछि पछिल्ला वर्षहरूमा सदस्य राष्ट्रहरूले रक्षा बजेट उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता जनाएका छन् ।जर्मन मार्शल फन्डका टर्की क्षेत्रीय निर्देशक ओजगुर उनलुहिसार्चिक्लीका अनुसार यस वर्षको सम्मेलनको मुख्य उद्देश्य गत वर्ष गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानु हो ।उनले भने, ‘गत वर्ष हेगमा नेटो सदस्यहरूले रक्षा खर्च ५ प्रतिशत पु¥याउने निर्णय गरे र युरोपेली सहयोगीहरूले आफ्ना रक्षा उद्योग सुदृढ बनाउन कदम चाल्न थाले ।’
‘यस वर्ष अंकारामा मुख्य छलफल खर्चलाई कसरी वास्तविक सैन्य क्षमतामा रूपान्तरण गर्ने भन्ने विषयमा हुनेछ । त्यसैले यो सम्मेलन गत वर्षको भन्दा अझ महत्वपूर्ण छ ।’तर ग्लोबल पोलिसी इन्स्टिच्युटका अध्यक्ष पाओलो भोन शिराख भने रक्षा खर्च बढाउँदैमा तत्काल सैन्य शक्ति वृद्धि नहुने बताउँछन् ।उनका अनुसार, ‘धेरै खर्च गर्नुको अर्थ तुरुन्तै धेरै क्षमता प्राप्त गर्नु होइन । ठुलो लगानी गरे पनि तत्काल अपेक्षित परिणाम नआउन सक्छ ।’
युक्रेनले यस सम्मेलनबाट के अपेक्षा राखेको छ ?
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार राष्ट्रपति ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । युक्रेन नेटोको सदस्य राष्ट्र होइन । रुसले युक्रेनी सहरहरूमा आक्रमण तीव्र बनाइरहेका कारण जेलेन्स्कीले ट्रम्पसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गर्नेछन् ।सोमबार बिहान किभमा भएको रुसी ड्रोन आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयुएसआई)का वरिष्ठ अनुसन्धानकर्ता ज्याक वाटलिङका अनुसार युक्रेनले नेटो सदस्य राष्ट्रहरूबाट दीर्घकालीन राजनीतिक तथा सैन्य–प्राविधिक सहयोगको स्पष्ट प्रतिबद्धता चाहेको छ ।उनले भने, ‘युक्रेनको उद्देश्य रुसलाई आगामी १२ देखि २४ महिनासम्म आफ्नो प्रतिरक्षा क्षमता कमजोर नहुने स्पष्ट सन्देश दिनु हो ।’वाटलिङका अनुसार युक्रेनलाई उपलब्ध गराइने अवरोधक (इन्टरसेप्टर) मिसाइलहरूको संख्या र रुसले ब्यालिस्टिक मिसाइलमार्फत पु¥याउन सक्ने क्षतिको मात्रा प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
युरोपेली राष्ट्रहरूको खास चिन्ता के मा हो ?
यस शिखर सम्मेलनमा युरोपेली राष्ट्रहरूले घोषणा गर्ने अर्बौं डलरका सैन्य सम्झौताहरूलाई कतिपय विश्लेषकहरूले ट्रम्प प्रशासनलाई सन्तुष्ट पार्ने प्रयासका रूपमा हेरेका छन् । युरोपेली राष्ट्रहरूले इरानविरुद्धको युद्धमा सहभागिता नजनाएपछि ट्रम्पले आफूलाई उनीहरूको पैसा नभई ‘निष्ठा’ चाहिएको बताएका थिए ।उनले सम्मेलन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले आयोजना नगरेको भए आफू सहभागी नहुन पनि सक्ने संकेत दिएका थिए । हालका वर्षहरूमा टर्कीले रक्षा खर्च मात्र बढाएको छैन, नेटोभित्रकै सबैभन्दा ठुलो सैन्य सामग्री निर्यातकर्ता राष्ट्रहरूमध्ये एकका रूपमा पनि आफूलाई स्थापित गरेको छ ।रक्षा खर्चबारे विवाद अझै जारी छ । सम्मेलनको पूर्वसन्ध्यामा ट्रम्पले जर्मनीको रक्षा बजेटलाई ‘हास्यास्पद’ भनेका थिए । त्यसको जवाफमा जर्मन चान्सलर फ्रिडरिख मर्जले आफ्नो सरकारले देशको रक्षा क्षमता सुदृढ बनाउन इतिहासकै सबैभन्दा ठुलो लगानी गरेको बताएका छन् ।
यसैबीच अमेरिकाले केवल बयानबाजीमै सीमित नरही नेटो सदस्य राष्ट्रहरूबाट आफ्ना लडाकु विमान, युद्धपोत र पनडुब्बीहरू चरणबद्ध रूपमा फिर्ता लैजाने योजना पनि घोषणा गरेको छ ।ज्याक वाटलिङका अनुसार, ‘युरोपमा अमेरिकी स्थलसेनाको संख्या घट्दा त्यसले मुख्यतः राजनीतिक सन्देश दिन्छ । तर अमेरिकी हवाई शक्ति फिर्ता हुँदा यसको वास्तविक सैन्य प्रभाव पर्छ ।’विश्लेषकहरूका अनुसार अहिले सबैभन्दा ठुलो प्रश्न भनेको मतभेद र अमेरिकी सैन्य फिर्तीका बीच पनि नेटोले आफ्नो एकता कायम राख्न सक्छ कि सक्दैन भन्ने हो । ग्लोबल पोलिसी इन्स्टिच्युटका अध्यक्ष पाओलो भोन सिराख भन्छन्, ‘यस सम्मेलनको सबैभन्दा ठुलो महत्व राजनीतिक छ । यसले सहयोगी राष्ट्रहरू अझै पनि छलफल गरिरहेका छन्, भेटिरहेका छन् र एकताको सन्देश दिन खोजिरहेका छन् भन्ने देखाउँछ, यद्यपि उनीहरूबीचका मतभेद र शंकाहरू पूर्ण रूपमा हटेका छैनन् ।’उनका अनुसार अंकारा सम्मेलनको उद्देश्य तत्काल सैन्य रणनीति तथा कार्वाही बदल्नुभन्दा पनि सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्नु र एकताको सन्देश दिनु हो ।




.gif)





