संखुवासभाः जिल्ला प्रशासन कार्यालय संखुवासभाले संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ ।
प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड मुआब्जा बापतको रकम वितरण गर्ने जनाएको छ । उक्त रकम तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुले पाउने छन् । जिल्ला प्रशासनका अनुसार यो क्षेत्रमा ५ लाख देखि ३४ लाख रुपैयाँ सम्म जग्गाको मूल्यांकन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।
तल्लो अरुण आयोजना निर्माण स्थल क्षेत्रमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउने छन् । प्रस्तावित आयोजनाबाट ३ सय ३८ घरधुरी प्रभावित हुनेछन् भने १६ परिवार पूर्ण रुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि १ सय ८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५.९६ हेक्टर रहेको छ ।
अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगम लिमिटेडले तल्लो अरुणको पनि निर्माणको जिम्मा लिएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादन पछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका २ चेवाबेंसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए ।
अरुण तेस्रोको निर्माण मोडालिटीमै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।




.gif)





