काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ‘वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश’ अन्तर्गत नागरिकलाई सुरक्षित, जिम्मेवार र सचेत वित्तीय व्यवहार अपनाउन आग्रह गरेको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले साइबर ठगी र वित्तीय अपराधबाट जोगिन विशेष सावधानी अपनाउनुपर्ने सन्देश दिएको हो।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल वालेट तथा अन्य विद्युतीय भुक्तानी प्रणालीको प्रयोगसँगै वित्तीय जोखिम पनि बढ्दै गएको छ। त्यसैले बैंक खाता, एटिएम कार्ड, पिन नम्बर, ओटीपी, पासवर्ड वा अन्य गोप्य विवरण कसैसँग पनि साझेदारी नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। अपरिचित व्यक्ति, फोन, इमेल वा सामाजिक सञ्जालमार्फत आउने आकर्षक प्रस्ताव तथा लिंकप्रति पनि सजग रहनुपर्ने सन्देशमा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले व्यक्तिगत आम्दानीअनुसार खर्च गर्ने, नियमित बचत गर्ने, आवश्यकताअनुसार मात्रै ऋण लिने तथा लगानीअघि आधिकारिक स्रोतबाट जानकारी लिन पनि आग्रह गरेको छ। वित्तीय योजना बनाएर खर्च व्यवस्थापन गर्दा आर्थिक सुरक्षा मजबुत हुने र भविष्यका जोखिम सामना गर्न सहज हुने केन्द्रीय बैंकको भनाइ छ।
सन्देशमा डिजिटल बैंकिङ प्रयोग गर्दा सार्वजनिक वाइफाइमार्फत वित्तीय कारोबार नगर्न, बैंकिङ एप तथा उपकरण समयमै अद्यावधिक गर्न र कुनै शंकास्पद कारोबार देखिए तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्थालाई जानकारी गराउन सुझाव दिइएको छ। यसले साइबर अपराधबाट बच्न र ग्राहकको वित्तीय सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचसँगै वित्तीय चेतना पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै वित्तीय रूपमा सचेत नागरिकले मात्रै सुरक्षित र समृद्ध आर्थिक जीवन निर्माण गर्न सक्ने जनाएको छ। वित्तीय साक्षरताले व्यक्तिगत आर्थिक अवस्था सुधार्नुका साथै समग्र वित्तीय प्रणालीलाई पनि सबल र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्र बैंकको विश्वास छ। आगामी दिनमा पनि देशभर वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिँदै नागरिकलाई सुरक्षित, जिम्मेवार र आधुनिक वित्तीय प्रणालीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।





.gif)





