काठमाडौं । साहित्य, चिकित्सा शिक्षा तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ समेट्ने उद्देश्यका साथ प्रा. डा. चन्दा कार्की (भण्डारी) का दुई नयाँ कृति “छचल्किएका भावनाहरू” र “प्रसूति तथा स्त्री रोगमा प्रयोग हुने आवश्यक उपकरणहरू” सार्वजनिक गरिएको छ।
प्रतिनिधिसभा सदस्य कामिनी चौधरी, वरिष्ठ जनस्वास्थ्य विज्ञ बेनु बहादुर कार्की, नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज की उपाध्यक्ष सपना अमात्य, ज्ञानेन्द्र मान सिंह कार्की तथा पूर्व सांसद बिन्ध्यबासिनी कंसाकार ले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।
“छचल्किएका भावनाहरू” भावनात्मक कविता सङ्ग्रह हो भने “प्रसूति तथा स्त्री रोगमा प्रयोग हुने आवश्यक उपकरणहरू” चिकित्सा तथा नर्सिङ शिक्षा क्षेत्रमा अध्ययनरत विद्यार्थी, प्रशिक्षार्थी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपयोगी शैक्षिक पुस्तकका रूपमा प्रकाशित गरिएको छ।
चार दशकभन्दा बढी समय स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा महिला स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकी प्रा.डा.चन्दा कार्कीले अवकाशपछि पनि सामाजिक उत्तरदायित्वका विभिन्न अभियानमा सक्रियता जनाउँदै आउनुभएको छ। उहाँ हाल राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत सामाजिक तथा राजनीतिक गतिविधिमा समेत संलग्न हुनुहुन्छ।
लेखिकाका अनुसार यी कृतिहरू केवल साहित्यिक र शैक्षिक प्रकाशन मात्र नभई सामाजिक सेवासँग जोडिएको मानवीय अभियान पनि हुन्। पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम शिवचन्द्र स्मृति प्रतिष्ठान मार्फत विपन्न, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा पारदर्शी रूपमा खर्च गरिने जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले साहित्य, स्वास्थ्य शिक्षा र सामाजिक सेवाको सेतुका रूपमा यी कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। लेखकले साहित्यप्रेमी, स्वास्थ्यकर्मी, विद्यार्थी तथा शुभेच्छुकहरूलाई पुस्तक अध्ययन, प्रचार–प्रसार तथा सामाजिक अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।




.gif)





