काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेको छ। राष्ट्र बैंकले परिपत्र नं. ८ (घ) मार्फत लघुवित्त क्षेत्रको नियमन, सुशासन तथा वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको हो।
राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रवाह, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, ग्राहक संरक्षण तथा वित्तीय पारदर्शितासम्बन्धी व्यवस्थाहरूलाई थप कडाइका साथ कार्यान्वयन गर्नुपर्नेछ।
केन्द्रीय बैंकले पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका चुनौती, ऋणको दोहोरो लगानी, वित्तीय अनुशासन तथा सेवाग्राही संरक्षणका विषयलाई ध्यानमा राख्दै निर्देशन परिमार्जन गरेको जनाएको छ। संशोधित व्यवस्थाले लघुवित्त संस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकका अनुसार परिमार्जित निर्देशन तत्काल कार्यान्वयनमा आउनेछ। साथै, सबै लघुवित्त वित्तीय संस्थालाई नयाँ व्यवस्थाअनुसार आफ्नो नीति, प्रक्रिया तथा कार्यप्रणाली अद्यावधिक गर्न निर्देशन दिइएको छ।
यस संशोधनले लघुवित्त क्षेत्रको स्थायित्व, वित्तीय पहुँच विस्तार तथा सेवाग्राहीको हित संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।








.gif)





