images

२०८३ आश्विन १८ गते

images
images
images

कुमारी बैंकको डिजिटल कर्जा सेवा सुरु, धितोबिनै ५ लाखसम्म ऋण पाइने

कुमारी बैंकको डिजिटल कर्जा सेवा सुरु, धितोबिनै ५ लाखसम्म ऋण पाइने

images
images
शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • काठमाडौं, ३० जेठ । नेपालको बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप मजबुत बनाउँदै कुमारी बैंक लिमिटेडले देशकै पहिलो रियल–टाइम ईआरपी (ERP) एकीकृत डिजिटल कर्जा सेवा सार्वजनिक गरेको छ। बैंकले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा सुरु गरेको यो सेवा विशेषगरी साना तथा मझौला व्यवसायी (SMEs) लाई लक्षित गरिएको हो।

    images
    images

    नयाँ प्रणालीमार्फत व्यवसायीहरूले आफ्नो दैनिक कारोबारको वास्तविक तथ्याङ्कका आधारमा धितोबिनै बैंकबाट सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा विस्तार नीतिअनुरूप ल्याइएको यो सेवाले लाखौँ साना तथा घरेलु उद्यमलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    यस प्रणालीमा व्यवसायीले प्रयोग गर्ने ERP सफ्टवेयर र बैंकको कर्जा मूल्याङ्कन प्रणाली प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। व्यवसायको बिक्री, स्टक, खरिद तथा वित्तीय गतिविधिको वास्तविक समयको तथ्याङ्क विश्लेषण गरी बैंकले कर्जा योग्यताको मूल्याङ्कन स्वतः गर्ने व्यवस्था गरिएको छ। यसका लागि अतिरिक्त कागजात बुझाउन वा बैंक शाखा धाउनुपर्ने आवश्यकता पर्दैन।

    images
    images

    कुमारी बैंकका अनुसार यो सेवा नेपालमा व्यवसाय–केन्द्रित र वास्तविक कारोबारमा आधारित पहिलो डिजिटल कर्जा प्रणाली हो। यसअघि उपलब्ध डिजिटल कर्जाहरू मुख्यतः व्यक्तिगत ग्राहक वा तलब खाताधारी कर्मचारीमा केन्द्रित थिए।

    सेवाअन्तर्गत योग्य व्यवसायीहरूले अधिकतम पाँच लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा धितोबिनै प्राप्त गर्न सक्नेछन्। कर्जा १२ महिनासम्मको समान मासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। साथै सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले कर्जा स्वीकृति र रकम वितरण छिटो र सहज हुने बैंकले जनाएको छ।

    बैंकले प्रणालीमा अत्याधुनिक सुरक्षा प्रविधि प्रयोग गरिएको उल्लेख गर्दै व्यवसायीहरूको वित्तीय तथ्याङ्क सुरक्षित र गोपनीय रहने जनाएको छ। पूर्ण रूपमा स्वचालित प्रणाली भएकाले कर्जा मूल्याङ्कन प्रक्रिया पारदर्शी, निष्पक्ष र त्रुटिरहित हुने दाबी गरिएको छ।

    नेपालमा करिब नौ लाखभन्दा बढी साना तथा मझौला उद्यम सञ्चालनमा रहेका छन्। धितोको अभाव तथा जटिल प्रक्रियाका कारण औपचारिक कर्जा पहुँचबाट टाढा रहेका व्यवसायीलाई लक्षित यो सेवा उद्यमशीलता प्रवर्द्धन, वित्तीय समावेशिता र डिजिटल अर्थतन्त्र विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend