images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल...

एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण

एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • लन्डन । वैज्ञानिकहरूले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर नयाँ प्रकारको खोप विकास गरेका छन्, जसले भविष्यमा महामारी रोक्न र विभिन्न प्रकारका भाइरसविरुद्ध व्यापक सुरक्षा प्रदान गर्न सक्ने विश्वास गरिएको छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार कुनै खोपको मुख्य तत्त्व पूर्ण रूपमा एआईद्वारा डिजाइन गरी मानवमा परीक्षण गरिएको यो विश्वकै पहिलो प्रयास हो ।यो खोप विशेषगरी कोरोना भाइरस परिवारका सबै प्रकारका भाइरसविरुद्ध प्रभावकारी हुने लक्ष्यका साथ विकास गरिएको हो । यसले कोभिड–१९ का विभिन्न भेरियन्ट मात्र होइन, जनावरबाट मानिसमा सर्न सक्ने सम्भावित नयाँ कोरोना भाइरसबाट समेत सुरक्षा दिन सक्ने अपेक्षा गरिएको छ ।

    images
    images

     टोलीका प्रमुख वैज्ञानिक जोनाथन हिनीका अनुसार हाल प्रयोग भइरहेका धेरै खोपहरू भाइरसको नयाँ स्वरूपसँग जुध्न समय–समयमा अद्यावधिक गर्नुपर्ने हुन्छ । तर नयाँ प्रविधिको उद्देश्य भविष्यमा देखा पर्न सक्ने भाइरसलाई समेत लक्षित गरेर सुरक्षा प्रदान गर्नु भएको उनले बताए । उनका अनुसार वैज्ञानिकहरूले कोरोना भाइरसहरूको विभिन्न आनुवंशिक जानकारी एआई प्रणालीमा विश्लेषणका लागि दिएका थिए । त्यसपछि एआईले ‘सुपर एन्टिजेन’ नामक विशेष तत्त्व डिजाइन गर्‍यो, जसले प्रतिरक्षा प्रणालीलाई भाइरसको सम्पूर्ण परिवारविरुद्ध प्रतिक्रिया दिन तालिम दिन सक्छ ।खोपको प्रारम्भिक परीक्षण ३९ जनामा गरिएको थियो । परीक्षणको मुख्य उद्देश्य यसको सुरक्षा मूल्याङ्कन गर्नु थियो । हाल करिब २०० सहभागीमा अर्को अध्ययन जारी छ, जसले खोपले प्रतिरक्षा प्रणालीलाई कति प्रभावकारी रूपमा सक्रिय बनाउँछ भन्ने स्पष्ट पार्नेछ । अनुसन्धानको नतिजा जर्नल अफ इन्फेक्शनमा प्रकाशित गरिएको छ । प्रारम्भिक नतिजामा प्रतिरक्षा प्रतिक्रिया मध्यम स्तरको देखिए पनि वैज्ञानिक समुदायमा यसले ठुलो उत्साह सिर्जना गरेको छ ।

    साउथह्याम्प्टन विश्वविद्यालयका प्राध्यापक साउल फाउस्टले एआईमार्फत खोप डिजाइन गर्ने प्रविधिमा ठुलो सम्भावना रहेको बताएका छन् । उनका अनुसार भाइरस निरन्तर परिवर्तन भइरहने अवस्थाका लागि यस्तो प्रविधि विशेष रूपमा उपयोगी हुन सक्छ । अनुसन्धान टोलीले अहिले वार्षिक रूपमा परिमार्जन गर्न नपर्ने सार्वभौमिक फ्लु खोप, बर्ड फ्लु (एच५एन१)विरुद्धको खोप तथा इबोला जस्ता घातक भाइरसविरुद्धका खोपहरूमा पनि काम गरिरहेको जनाएको छ ।अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्डी पोलार्डले पनि एआई भविष्यमा खोप अनुसन्धानको ‘गेम चेन्जर’ बन्न सक्ने बताएका छन् । उनका अनुसार एआईले प्रतिरक्षा प्रणालीले खोपप्रति कसरी प्रतिक्रिया जनाउँछ भन्ने अनुमान गर्न सक्ने भएकाले खोप विकासको प्रक्रिया छिटो र प्रभावकारी बन्नेछ । विशेषज्ञहरूका अनुसार यो प्रविधि सफल भएमा भविष्यमा महामारी सुरु हुनुअघि नै त्यसविरुद्ध सुरक्षा दिने खोप विकास गर्न सम्भव हुन सक्छ, जसले विश्व स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend